अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिने र काम सुरु गर्ने समय हो।
EcoEcoPolitics२ हप्ता अगाडि
नेपालीकांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना ज्युले केन्द्रीय कार्यसमितीमा राख्नु भएको धारणा ,
सर्वप्रथम भदौ २३/२४ को घटानाको स्मरण गर्दै आदरणीय सभापति शेरवहादुर देउवा र केन्द्रिय सदस्य आरजु देउवा माथी भएको सांघातिक हमला को भत्सर्ना गर्दै उहाँहरूको शिध्र स्वास्थलाभको कामना गर्दछु । त्यसैगरी भष्ट्राचार र शुसासनका लागी शान्तिपूर्ण आन्दोलनका क्रममा जीवन गुमाउनु भएका सवै भाई वहिनि प्रति हार्दिक श्रध्द्वाञ्जलि साथै परिवार जनमा समवेदना व्यक्त गर्दै घाईतेहरूको शिध्र स्वास्थ लाभको कामना गर्दछु । हाम्रा नेताहरूका ऐतिहासिक घर,पार्टि कार्यालय र पार्टिका साथिहरूका घर सरककारी तथा व्यापारीक भवनहरू ध्वस्त वनाउने तत्वहरूको छानविन र कानुनि दाएरामा ल्याएर सशक्त कारवाहिका लागी जोडदार माग गर्दछु ।
जेन–जी आन्दोलनले नेपाली कांग्रेसको अवधारणालाई ऐतिहासिक परिवर्तनको मोडमा खडा गरेको छ, र सन्देश सदैव सतर्क र सचेत रहन ध्यानाकर्षण पनि गराएको छ । नेपालको लोकतान्त्रिक यात्रामा नेपाली कांग्रेस सधैं जनताको भावना, आकांक्षा र अधिकारका लागि अग्रपंक्तिमा रहँदै आएको पार्टी हो। यही कारणले कांग्रेस जनतामुखी र विचारकेन्द्रित राजनीतिक शक्तिको रूपमा स्थापित हुन सफल हुनसकेको छ। तर, पछिल्ला केही वर्षयता हाम्रो पार्टीभित्र केही चुनौतीपूर्ण प्रवृत्तिहरू मौलाउँदै गएको देखिन्छ। पार्टीभित्रको चरम व्यक्तिवादी चरीत्र, आफ्नै पद र शक्तिमा जकडिन खोज्ने प्रवृत्ति, अंहमता, र आर्थिक लाभप्रतिको आकर्षण जस्ता व्यवहारहरूले हाम्रो संगठनात्मक शुद्धता र सामूहिकतामा प्रतिकूल असर पारिरहेका छन्। यी प्रवृत्तिहरूले कांग्रेसको ऐतिहासिक मूल्य, आदर्श, र जनताको सेवा गर्ने चरित्रलाई क्रमशः कमजोर पार्दै लगेको वर्तमान अवस्था हो।
हामीले स्वीकार गर्नैपर्छ—जनताको भावना, नयाँ पुस्ताको आकांक्षा, र समयको माग लाई बुझ्न नसकेर सामाजीक सन्जाललाई प्रतिवन्ध गर्ने विषय गलत नै थियो । जेन–जी आन्दोलनले उठाएका प्रश्नहरू केवल युवाहरूका आवाज मात्र होइनन्, ती हाम्रो राजनीतिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको माग पनि हुन्। जेन–जी आन्दोलनपछि धेरै गम्भीर प्रश्नहरू उठेका छन्। ती प्रश्नहरूलाई हामीले संवेदनशीलतापूर्वक बुझ्नुपर्नेछ। के आन्दोलन पुर्व सूचना सहि उपलव्ध गराईयो ? सूचनाको सम्प्रेषण गर्ने निकाय किन कमजोर भयो? यो प्रश्न केवल आरोप होइन—आत्ममूल्यांकनको विषय हो। अर्थात सूचनालाई बेवास्ता गर्ने, अथवा “हामीलाई केही हुन सक्दैन” भन्ने मनोवृत्ति देखिएको छ। आत्मरति र सानो घेरामा मात्र सल्लाह–परामर्श गर्ने प्रवृत्तिले संगठनभित्र दूरी र असन्तुलन बढाएको अनुभूति धेरैलाई भएको छ। म सम्मानपूर्वक एउटा कुरा यहाँ उल्लेख गर्न चाहन्छु पदाधिकारी वैठक २२ गते विहान हामिलाई पनि (सहमहामन्त्री लगायत ) र शिर्ष नेतृत्वलाई वोलाईएको थियो । सभापतिज्यु अनभिज्ञ हुनुहुन्थ्यो भन्दै हुनुहुन्थ्यो प्रततिवन्ध होईन सरकारले दर्ता गर भनेको हो । केहि हुदैन भन्ने उहाँको भर्सन थियो ।
मलाई लाग्गो उहाँलाई सुचनावाट वन्चित गरेको रहेछ । म छिट्टै निस्के र मिडियाले सोध्दा सामाजीक सन्जाल प्रतिवन्ध गलत हो भने ।सुचना हामिलाईपनि थियो तर सुनिएन । सरकार सञ्चालनका लागी वनेको संयन्त्रमा को को वसेर नेपाली काङ्रेसको नीतिगत निर्णय र कार्यान्वयनका प्रक्रियामा काम गर्नु भयो आत्म समिक्षा र स्वमुल्याङकन गरौ म म भनौ, केवल ४/५ जना र केहि मन परेका सल्लाहकार वाट चलेको थियो । आफ्ना सवै काम गराउने अनि अहिले समस्या पर्दा पानि माथिको ओभानो हुदै आजको अवस्थाको सम्पूर्ण जिम्मेवारी केवल सभापतिमाथि केन्द्रित गर्नु सन्तुलित मूल्याङ्कन होईन गलत हो। किनभने त्यो बेला पनि निर्णय र कार्यान्वयनमा केहि व्यत्तीहरूको प्रभावकारी भुमिका थियो।
त्यसैले, म यो भनिरहेकी छु—हामीले दोषारोपण होइन, वास्तविकता के हो र सुधारको लागी त्याग गर्न जरूरी छ । सामुहिक जिम्मेवारी र पारदर्शिताको संस्कृति बलियो बनाउँदै, सहकार्य र विश्वासका माध्यमबाट मात्रै हामी पार्टी लाई पुनः प्रभावकारी बनाउन सक्छौं।आजको आवश्यकता भनेको पार्टीभित्रै आशा जगाउने र नवजीवन दिन सक्ने निर्णय लिनु पर्दछ । हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सामूहिक जिम्मेवारी, नीतिगत स्पष्टता, र जनताको मूल लक्ष्यप्रति पुनः प्रतिबद्ध हुन जरुरी छ।यदि नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहास, लोकतान्त्रिक आदर्श र जनताको विश्वासलाई पुनर्स्थापित गर्न चाहन्छ भने—हामी सबैले एकताबद्ध भएर आन्तरिक सुधार, हाम्रा मूल्य, मान्यताको संरक्षण र नयाँ पुस्तासँग सहकार्य गर्नैपर्छ।
यदि हामी सबैले एकअर्काको भूमिकाको सम्मान गर्दै सामूहिक उत्तरदायित्व स्वीकार्य बनायौं भने—कांग्रेस पुनः आफ्नो पुरानो जनविश्वास र गौरवशाली भूमिकामा फर्कन सक्नेछ। कृयाशील सदस्यतासम्बन्धी विषय हाम्रो पार्टीको संगठनात्मक आधारसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण विषय हो। पार्टी विधानको सम्बन्धित धारामा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रत्येक वर्ष कृयाशील सदस्यताको नवीकरण गर्नुपर्छ। यो केवल औपचारिक प्रक्रिया मात्र होइन, संगठनलाई जीवित र सक्रिय राख्ने आधारभूत संरचना हो। तर विडम्बना के छ भने, हामीले सो विधान अनुसारको नियमित नवीकरण प्रक्रिया समयमै पूरा गर्न सकेनौं। प्रश्न उठ्छ — किन गरेनौं? यदि विधानमा स्पष्ट व्यवस्था छ भने त्यसलाई पालना नगर्ने प्रवृत्तिले हाम्रो आन्तरिक अनुशासन र संस्थागत विश्वसनीयता दुवैमा प्रश्न खडा गरेको छ। विगतका अनुभवले पनि देखाएको छ — महाधिवेशन नजिकिँदा मात्र हतार–हतार सदस्यता नवीकरण र नयाँ वितरण गर्ने परिपाटी दोहोरिँदै आएको छ। यो प्रवृत्तिले न त सदस्यहरूको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्छ, न त संगठनमा पारदर्शिता र विश्वसनीयता बढाउँछ। महामन्त्री गगन थापा ले भन्नु भयो पहिला सधै यस्तै भएको थियो अहिले पनि यहि गर्ने अनि तपाईको रूपान्तरण को नारा कहाँ गयो ? रूपान्तरण भन्ने कुरा के केवल व्यक्तिको अदल–बदलमा सीमित रहने हो? कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो? साँचो रूपान्तरण भनेको जिम्मेवारीप्रति ईमानदारी र विधानप्रति निष्ठा हो।
अहिले कोषाध्यक्ष ज्यु माथि ठुलो वोझ छ पार्टि कार्यालय को अवस्था सवैलाई थाहानै छ । उहाँ क्राउड फण्ठ उठाउछु भनिरहनु भएको छ, उहा जस्तो आर्थिक रूपले सम्पन्न व्यक्तिलाई हामिले माग्ने वनाएका छौ । अव हिसाव गरौ ८ लाख कृयाशिल सदस्यले प्रत्येक वर्ष ५० रूपैयाले मात्र नविकरण शुल्क तिर्दा कति हुन्छ? ४ करोड । ल ५ लाखले मात्र गर्दापनि अढाई करोड । भनिन्छ नि कस्तुरीलाई आफुभित्रको सुगन्ध थाहानपाएर अरूतिर भौतारीरहेको अवस्था हाम्रो पार्टिको अवस्था छ । त्यसैले, मेरो नम्र आग्रह छ — अब हामीले विगतका अस्वस्था परम्पराहरू दोहोर्याउने होइन, विधानको मर्मअनुसार नियमित प्रक्रिया संस्थागत गर्नुपर्छ। यही बाटोबाट मात्र कांग्रेसलाई बलियो, विश्वसनीय र रूपान्तरणशील बनाउन सकिन्छ । कृयाशील सदस्यताको व्यवस्थापन हाम्रो पार्टीको संगठनात्मक बलसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो।
म स्पष्ट रूपमा भन्न चाहन्छु — महामन्त्रीज्युहरू अत्यन्त व्यस्त व्यक्तित्व हो उहाँहरूलाई देश भरी वाट आमन्त्रण गर्छन जानै पर्यो अनि विदेशवाट पनि, अनि लिएको जीम्मेवारी कसरी पुरा गर्नुहुन्छ । कार्यालयहरूपनि धेरै छन रे कसरी भ्याउनु हुन्छ । म तयार छु अरूपनि हुनुहुन्छहोला, जिम्मेवारी लिन यो कार्य पूरा गरेर देखाइदिन म तयार छु। मेरो प्रस्ताव सरल छ — प्रत्येक वर्षको कृयाशील सदस्यता नवीकरणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरौँ। नागरिकता वा ड्राइभिङ लाइसेन्सजस्तै प्रत्येक सदस्यको लागि डिजिटल कार्ड क्युआर सहित तयार पार्न सकिन्छ, जसले सदस्यताको पारदर्शिता र विश्वसनीयता दुवै बढाउँछ । म गरेर देखाउन सक्छु, म यहाहरू जस्तो पपुलर छैन रात दिन यहि कार्यालयमा वसेर कार्यालयमा पनि धेरै आईटी पढे नपढेपनि अनुभवी विज्ञ हरू हुनुहुन्छ उहाँहरूको सहयोगवाट क्युआर सहितको कार्ड वनाईदिन्छु ।
त्यसैले, मेरो नम्र आग्रह छ — अब हामीले विगतका अस्वस्था परम्पराहरू दोहोर्याउनु होइन, विधानको मर्मअनुसार नियमित प्रक्रिया संस्थागत गर्नुपर्छ। कृयाशील सदस्यताको व्यवस्थापन हाम्रो पार्टीको संगठनात्मक बलसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो। तर यथार्थ के हो भने — म स्वयं सह–महामन्त्री हुँ, तर आजसम्म मेरो हातमा कृयाशील सदस्यताको कार्ड आएको छैन। हरेक वर्ष नवीकरण फारम भरेको छु, तर कार्ड पाउने कुरा कहिल्यै पूरा भएको छैन। धेरै सदस्यहरू को गुनासो छ, सदस्यता नै हातमा छैन हामि काङ्रेस हौ कि के हौ थाहा छैन“हामीले कार्ड पाएका छैनौं”, त्यो केवल गुनासो होइन, त्यो पार्टीप्रतिको आत्मीयता लाई कमजोर बनाउने संकेत हो। मृद्वुभाषि महामन्त्री विश्व प्रकाश शर्मा डिजिटलाईजेशनको धेरै कुरा गर्नुहुन्छ कहाँ छ हाम्रो पर्टि डिजिटलाईजेशनमा गएको प्रमाण ? महामन्त्रीज्यूहरू बारम्बार भन्नुहुन्छ — “अब सबैलाई अनलाइन प्रणालीमा लैजान्छौं।” तर यस्तो सुनेको पाँच–सात वर्ष भइसकेको छ। प्रश्न उठ्छ — यो कार्य किन अघि बढेन? कसले रोक्यो? हामीलाई अब जवाफ मात्र होइन, कार्यान्वयन चाहिएको छ।
सुधारको कुरा धेरै भनियो, अब व्यवहारमा देखाउने समय आएको छ। कृयाशील सदस्यताको डिजिटल रूपान्तरण नै पारदर्शी, विश्वसनीय र आधुनिक कांग्रेस निर्माणतर्फको पहिलो ठोस कदम हुनेछ। महाधिवेशनको सन्दर्भ अहिले पार्टीभित्रको प्रमुख विषय बनेको छ। पछिल्लो समयमा पार्टीभित्र केहि धार या एक दुई वा अनेक पक्ष जस्तो देखाउने प्रयास भइरहेको छ, तर मेरो बुझाइमा यसको कुनै ठोस अर्थ छैन। अव महाधिवेशन नियमित गर्नुपर्छ भन्ने विषयमा सवैको सहमति नै छ तर केवल तिथि मिथिमा अल्झेर समय वर्वाद गरीरहेका छौ । मैले वुझेअनुसार ५४% हस्ताक्षरको स्वर केवल विशेष अधिवेशनको माग नेतृत्व परिवर्तन मात्र होइन—पूर्ण रूपमा पुनरवलोकन, नीतिगत सुधार, नियमित अधिवेशन र नयाँ यात्राको संकेत हो यस लाई अनादार गर्न मिल्दैन, नगरौ । अधिवेशनकालागि आवश्यक तयारी, विधान संशोधन समिति, निर्वाचन समितिलाई दिईने आवस्यक कार्यसूची, कृयाशिल छानविन समिति र समय तालीकाको संगठनात्मक थालनी तत्काल गरौ ।
महिले यो विषय पहिलो कार्यसम्पादनको वैठकमानै राखेको थिए झण्डै दुई महिना हुन लाग्यो त्यसवेला देखि शुरू गरीएको भए आज कोर्ष अगाडी वढिसक्थ्यो अहिले भएको ढिलाइले केवल भ्रम र असन्तुष्टि बढाउँदै लगेको छ। अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह गर्नुले हाम्रो संस्थागत छवि धमिलिन पुगेको र नकारात्मक प्रभाव जनमानसमा छरीएको र संगठनलाई कमजोर देखाउने मौका पाईरहेका छन्। त्यसैले, म विनम्रतापूर्वक सुझाव दिन चाहन्छु—अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो। अधिवेशन केवल प्रक्रियागत अभ्यास होइन, यो हाम्रो लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि हो। हामी सबै मिलेर स्पष्ट निर्णयमा पुगौं, आवश्यक तयारी आरम्भ गरौं, र कांग्रेसलाई फेरि जनविश्वासको केन्द्र बनाउन प्रतिबद्ध बनौं।
यही बाटो हाम्रो एकता र सशक्तताको आधार बन्न सक्छ। अब हामी अर्को महत्वपूर्ण चरणतर्फ अघि बढ्दैछौं — निर्वाचन।हामी सबैलाई थाहा छ, लोकतान्त्रिक प्रणालीको मेरुदण्ड नै स्वतन्त्र निर्वाचन हो। यस विषयमा हाम्रो पार्टीभित्र कसैको दुईमत छैन।हामी लोकतान्त्रिक मूल्य र अभ्यासका हिमायती हौं। हाम्रो दृढ विश्वास छ — निर्वाचन नै त्यो माध्यम हो जसले मुलुकको समग्र राजनीतिक, प्रशासनिक र सामाजिक प्रणालीलाई चुस्त, दुरुस्त र उत्तरदायी राख्छ। त्यसैले, अब हामीले निर्वाचनको सिद्धान्त होइन, तयारी र कार्यान्वयनका पक्षमा ठोस योजना बनाउन आवश्यक छ। उम्मेदवार छनोटदेखि नीति सन्देश, जनसंपर्क, संगठन सुदृढीकरण र मतदाता विश्वास पुनः प्राप्त गर्नेसम्मका सबै पक्षमा स्पष्ट कार्ययोजना आवश्यक छ। हामीले यस विषयमा गम्भीर विचार–विमर्श गर्नुपर्छ—किनभने यो केवल पार्टीको प्रतिस्पर्धा होइन, देशको लोकतान्त्रिक स्थायित्वसँग जोडिएको प्रक्रिया हो।अबको चुनौती नै यही हो — कसरी कांग्रेसले आगामी निर्वाचनलाई अवसरका रूपमा उपयोग गरी, जनतामा पुनः विश्वास, ऊर्जा र आशा जगाउनका लागि तयारी आजैदेखि सुरु गरौं। आदरणीय सभापतिज्यू, म एउटा महत्वपूर्ण विषय स्मरण गराउन चाहन्छु।
वर्तमान कार्यवाहक सभापतिज्यूले यसै बैठकमा र पोखरामा सम्पन्न प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट रूपमा भन्नु भएको थियो — “नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा आफ्नै कारणले केन्द्रमा करिब ३० सिट र प्रदेशमा करिब ६० सिटमा पराजय व्यहोर्नु परेको हो।”उहाँको यो भनाइ आत्ममूल्यांकनका दृष्टिले अत्यन्तै महत्वपूर्ण छ। तर अहिले आवश्यक कुरा के हो भने — उहाँले औंल्याउनुभएको ‘आफ्नै कारण’ ले भनेका कहाँ कहाँ हो कुन कुन क्षेत्र हो ? त्यो कारणहरूको स्पष्ट खाका हामीसबैलाई थाहा हुनु अत्यावश्यक छ, ताकि अब हुन गइरहेको निर्वाचनका लागि हामीले ती कमजोरीहरू सच्याउन सकौं। यदि हामी विगतका कारणहरूलाई स्पष्ट बुझ्न र सच्याउन सक्षम भयौं भने, आगामी निर्वाचनमा कांग्रेस अझ एकताबद्ध, परिपक्व र जनताको विश्वास पुन जीत्न सक्ने रूपमा अघि बढ्न सक्छ भन्ने विश्वास छ ।








