प्रधानमन्त्री कार्कीको चेतावनी: चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरूलाई तत्काल राजीनामा दिन आग्रह
Ecoecopolitics Desk१ हप्ता अगाडि
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मन्त्रीहरूलाई तत्काल पद छोड्न आग्रह गरेकी छन् । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले चुनाव लड्न चाहनेहरूले सरकारमा बसिरहन उपयुक्त नहुने भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएकी हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्रीले बैठकमा कसैको नामै तोकेर नभने पनि सामूहिक रूपमा स्पष्ट सन्देश दिएकी थिइन् । स्रोतले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्यो, “अब यता (मन्त्री पदमा) बसिरहन उचित हुँदैन । चुनाव लड्न चाहनेले त्यसको तयारीमा जाँदा हुन्छ । मार्गप्रशस्त गर्नुस् ।”
हाल मन्त्रिपरिषद्मा रहेका ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति बनेका छन् । रास्वपामा प्रवेश गर्नुअघि उनी उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने मन्त्री नियुक्ति हुनुअघि कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा सफल कार्यसम्पादन गरेपछि लोकप्रिय बनेका घिसिङलाई प्रधानमन्त्री कार्कीले प्राविधिक र स्वतन्त्र व्यक्तिका रूपमा सरकारमा ल्याएकी थिइन् । तर, उनी सक्रिय राजनीतिमा प्रवेश गरेपछि सरकारमा बस्नु नैतिक रूपमा अनुचित भएको भन्दै चौतर्फी दबाब बढ्दै आएको छ । यद्यपि, उनले हालसम्म राजीनामा दिएका छैनन् ।
यस्तै, सञ्चारमन्त्री जगदीश खरेल पनि मन्त्री बन्नुअघि लोकप्रिय सञ्चारकर्मीका रूपमा चिनिन्थे । स्वतन्त्र व्यक्तिको हैसियतमा सरकारमा सहभागी भएका खरेल अब राजनीतिक दलमार्फत सक्रिय राजनीतिमा होमिने तयारीमा छन् । ललितपुर–२ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएसँगै उनीमाथि पनि मन्त्री पद छोड्न दबाब बढेको छ ।
खेलकुदमन्त्री बब्लु गुप्ता पनि घिसिङसँगै रास्वपा प्रवेश गरेका हुन् । उनीसमेत सक्रिय राजनीतिमा जाने तयारीमा रहेपछि ‘नागरिक सरकारमा दलका मन्त्री’ भन्दै आलोचना चर्किएको छ ।
यही आलोचनाको पृष्ठभूमिमा प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा यी तीनै मन्त्रीलाई लक्षित गर्दै सरकार छोड्न दबाब दिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै दिएको अन्तर्वार्तामा आफ्ना मन्त्रिपरिषद् सदस्यहरू कुनै पनि राजनीतिक दलसँग आबद्ध नहुने स्पष्ट पारेकी थिइन् । तर, सो सार्वजनिक प्रतिबद्धताविरुद्ध मन्त्रीहरू नै दलमा प्रवेश गरेपछि प्रधानमन्त्री नैतिक संकटमा परेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
हाल सरकारमा प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।








