पोखरामा बृहत् कन्दमूल प्रदर्शनी सम्पन्न
Ecoecopolitics Desk६ महिना अगाडि
कास्की । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी सम्पन्न भएको छ।
युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा–भ्याकुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायतका कन्दमूलबारे जानकारी गराउने उद्देश्यले पोखरा–१७ स्थित ढुंगेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा विभिन्न जातका २५ किसिमका कन्दमूल राखिएका थिए।
कृषि विकास शाखाका अनुसार पोखरामा बर्सेनि करिब १३० टन तरुल र करिब ९० टन सखरखण्ड बिक्री हुने गरेको छ। यस्ता प्रदर्शनीले कन्दमूलको संरक्षण, उत्पादन र उपभोग प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकको छ।








