शेखर कोइरालाको अपिल: पार्टी सुधार रोकिन्न, सबै घर फर्कौं

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of शेखर कोइरालाको अपिल: पार्टी सुधार रोकिन्न, सबै घर फर्कौं

काठमाडौं, — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै सबै पक्षलाई कांग्रेसमै फर्कन आह्वान गरेका छन्।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि बिहीबार जारी विज्ञप्तिमा कोइरालाले पार्टीभित्र जित–हार कसैको नभएको उल्लेख गर्दै सबैले विन–विन अवस्थामा अगाडि बढ्न सकिने बताएका छन्। “पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म आह्वान गर्छु—हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं,” विज्ञप्तिमा भनिएको छ।

पार्टी एकताका प्रयास विफल हुनुमा दोषी को हो भन्ने विषयमा अहिले केही नबोल्ने उनले बताएका छन्। “दोषी–निर्दोषको बहस गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्नँ,” भन्दै उनले आफूहरू सबै कतै न कतै चुकेको स्वीकार गर्न तयार रहेको उल्लेख गरे। यसबारेको समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासलाई सुम्पिने उनको भनाइ छ।

राजधानीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुन्ने प्रयासहरू भएको र कांग्रेसलाई कमजोर पार्न चाहने स्वार्थलाई रोक्न नसकिएको उनले स्वीकार गरेका छन्। यस्तो अवस्थामा विपी कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने उल्लेख गर्दै उनले नियतिमा विश्वास गर्ने विपीको दृष्टान्त उद्धृत गरेका छन्।

आसन्न निर्वाचनतर्फ संकेत गर्दै कोइरालाले कांग्रेससामु ८ दशक लामो इतिहासको गौरव जोगाउने जिम्मेवारी रहेको बताए। समय छोटो भए पनि जनताको घरदैलोमा पुगेर कांग्रेसको चुनावी अभियानमा सहभागी हुने प्रयास गर्ने उनको भनाइ छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com