विमलेन्द्र निधि र मुख्यमन्त्री यादवमाथि दुर्व्यवहारको विरोधमा जनकपुरधाममा कांग्रेसको प्रदर्शन, चक्काजाम र पुतला दहन
Ecoecopolitics Deskएक महिना अगाडि
काठमाडौँमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि भएको दुर्व्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्। जनकपुरको पिडारी चोकमा चक्काजाम गरिनुका साथै भानुचोकमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुतला दहन गरिएको हो।
प्रदर्शनमा मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झा, प्रदेश सांसद सञ्जय महतोसहित कांग्रेस, नेविसंघ र तरुण दलका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कांग्रेस युवा नेता राकेश विक्रम साहले नेता निधिमाथि भएको दुर्व्यवहार निन्दनीय भएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरे।
उनले मधेशबिना कांग्रेसको अस्तित्व सम्भव नभएको उल्लेख गर्दै पछिल्लो समय मधेशका नेताहरूमाथि पटक–पटक दुर्व्यवहार हुने गरेको आरोप लगाए। ‘कहिले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुन्छ, कहिले विमलेन्द्र निधिजस्ता वरिष्ठ नेतामाथि दुर्व्यवहार गरिन्छ,’ उनले भने।








