पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन
EcoEcoPolitics२ हप्ता अगाडि
काठमाडौं, कात्तिक २२ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो।
उच्च रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य समस्या देखिएपछि उनलाई दशैंअघि नै अस्पतालमा भर्ना गरिएको थियो। पछिल्ला केही दिनयता स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई भेन्टिलेटरमा राखी उपचार गरिरहेका थिए। कांग्रेसका नेता तथा आलमका निकट सहयोगी, निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारकै क्रममा आलमको मृत्यु भएको पुष्टि गरेका छन्।
“पछिल्लो समय उहाँ निकै बिरामी हुनुहुन्थ्यो,” तिमल्सिनाले बताए, “आज उपचारकै क्रममा उहाँको निधन भयो।”
आलमका छोरा डा. राजीक आलमका अनुसार डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर ल्याइए पनि केही समयमै अवस्था फेरि बिग्रिएको थियो। त्यसपछि उनलाई पुनः काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।
गत जेठ १४ गते नख्खु कारागारबाट रिहा भएको केही दिनमै आलमलाई मस्तिष्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ आईसीयूमा एक साताभन्दा बढी उपचारपछि डिस्चार्ज गरिएका आलमलाई दशैंअघि थप उपचारका लागि भारत पठाइएको थियो।
२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटपछि दुई जनालाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सो फैसलालाई उल्टाउँदै गत जेठ १४ गते आलमसहित चार जनालाई सफाइ दिएको थियो।
राजनीतिमा सक्रिय रौतहटका प्रभावशाली मुस्लिम नेता आलम लामो समयदेखि नेपाली कांग्रेसभित्र महत्वपूर्ण भूमिकामा रहेका थिए। उनका पार्थिव शरीरलाई शनिबार नै पारिवारिक निर्णयअनुसार अन्त्येष्टि गरिने जनाइएको छ।








