राष्ट्रपति पौडेल दोहा सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेल दोहा सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए

काठमाडौँ, कात्तिक २० — राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासकालागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले राष्ट्रप्रमुखको सम्मानमा सलामी अर्पण गरेको थियो।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए। उनले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजित सम्मेलनको मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरेका थिए।

सम्मेलनअन्तर्गत ‘सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण — गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ विषयक उच्चस्तरीय गोलमेच सत्रलाई समेत उनले सम्बोधन गरेका थिए।

दोहा बसाइका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए। साथै उनले कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए।

सामाजिक विकासका लागि पहिलो विश्व शिखर सम्मेलन’ सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटकको सम्मेलनमा विकासको असमानता, जनसंख्याको असन्तुलन र प्रविधिक परिवर्तनले समाजमा पारेको प्रभाव लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका रूपमा नेपाल सधैं शान्ति, स्थायित्व र सामाजिक न्यायका पक्षमा सक्रिय रहँदै आएको छ। हाल नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्ष राष्ट्र पनि हो।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com