ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामाको समाचार झुट

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामाको समाचार झुट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिएको वा दिन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले सो समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै जनतामा भ्रम नफैलाउन आग्रह गरेका छन्।

 

मन्त्री घिसिङले मंगलबार एक वक्तव्य जारी गर्दै भनेका छन्, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु।”

 

उनले जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकारले विषम परिस्थितिमा जनताको आशा र विश्वास पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गरे। “तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु,” मन्त्री घिसिङले भने।

 

जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारभित्र आन्तरिक असमझदारी र सत्ता सन्तुलनका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री घिसिङले यस्तो स्पष्टिकरण दिएका हुन्। उनले सरकारको काम, जनअपेक्षा र सुधारका एजेन्डा अघि बढाउन आफू दृढ रहेको दोहोर्‍याएका छन्।

 

सरकारभित्रको समन्वय र सुधार प्रयासमा सक्रिय रहेको दाबी गर्दै उनले अन्ततः जनताप्रतिको जिम्मेवारी नै आफ्नो प्राथमिकता रहेको बताएका छन्।

 


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com