प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बालुवाटारमा बैठक बोलाइन्
EcoEcoPolitics३ हप्ता अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले संघीय शासन व्यवस्थामा संघ–प्रदेशबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक भोलि आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुने तय गरिएको छ।
प्रधानमन्त्री कार्कीले हालको राजनीतिक, आर्थिक र प्रशासनिक परिवेशमा संघीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारहरूसँग प्रत्यक्ष संवाद आवश्यक ठानेकी छन्। बैठकमा संघीय तथा प्रदेशबीचको जिम्मेवारी बाँडफाँट, स्रोत–साधन वितरण, विकास योजनाको समन्वय र प्रशासनिक सुधारका विषयहरू प्रमुख एजेन्डा हुने बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ कि बैठकले प्रदेशहरूका तर्फबाट उठाइएका चुनौती र सुझावहरूलाई समेट्दै संघीय सहकार्य संयन्त्रलाई संस्थागत स्वरूप दिने पहल समेत गर्नेछ।
स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीको यो बैठकलाई संघीय प्रणाली कार्यान्वयनमा ‘नयाँ संवादको शुरुवात’ का रूपमा हेरिएको छ। यसअघि पनि उनले मुख्यमन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेकी थिइन्, तर यो पहिलो पटक सबै सातै प्रदेशका प्रमुखहरू एउटै मञ्चमा सहभागी हुने बैठक हुन लागेको हो।







