अन्नपूर्ण बेस क्याम्प खाली: सशस्त्र प्रहरीले ३ दिनमा १६२ पर्यटकलाई सुरक्षित उद्धार गर्‍यो

Author ImageEcoEcoPolitics३ हप्ता अगाडि
Image of अन्नपूर्ण बेस क्याम्प खाली: सशस्त्र प्रहरीले ३ दिनमा १६२ पर्यटकलाई सुरक्षित उद्धार गर्‍यो

म्याग्दी — लगातारको हिमपातका कारण जोखिममा परेका अन्नपूर्ण बेस क्याम्प (एबीसी) क्षेत्रका सबै पर्यटकलाई सशस्त्र प्रहरी बलले सुरक्षित उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार अब अन्नपूर्ण बेस क्याम्पमा कुनै पनि आन्तरिक वा बाह्य पर्यटक बाँकी छैनन्। सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ।

 

सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार बेस क्याम्प क्षेत्रमा हिउँ पहिरो आइरहेको छ, जसका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। तर पनि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कार्तिक ११ गतेदेखि उद्धारका लागि खटिएको टोलीले लगातार तीन दिनसम्मको प्रयासपछि सबैलाई सुरक्षित स्थानमा पुर्‍याएको हो।

 

सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको उद्धार टोलीले १७ विदेशी पर्यटकसहित कुल १६२ जनाको उद्धार गरेको हो। बाक्लो हिमपातका कारण बाटो हराएका र अलपत्र परेका पर्यटकलाई डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको प्रहरीले जनाएको छ।

 

कार्तिक ११ गतेदेखि उद्धार अभियान सुरु भएको थियो। सो क्रममा बेस क्याम्पतर्फ गइरहेका केही पर्यटकलाई बाटोमै फर्काइएको थियो। बुधवार मात्रै ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो।

 

आज बिहानसम्ममा उद्धार गरिएका सबै १६२ जनालाई अन्नपूर्ण गाउँपालिका–४ का गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएका स्थानमा सुरक्षित राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

हाल अन्नपूर्ण बेस क्याम्प क्षेत्र पूर्ण रूपमा खाली गरिएको छ।

 

 


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com