महाधिवेशन विवाद: कांग्रेस एकता विभाजनको मोडमा?

Author ImageEcoecopolitics Desk१ हप्ता अगाडि
Image of महाधिवेशन विवाद: कांग्रेस एकता विभाजनको मोडमा?

काठमाडौँ।

महाधिवेशनको मितिलाई लिएर देखिएको विवादका कारण नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उभिँदा, निर्वाचनपछि जेठ महिनामा नियमित महाधिवेशन गर्ने संस्थापन समूहको अडानले पार्टीभित्रको तनाव चर्किएको हो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकाल्दै २८ देखि ३१ वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ। तर उक्त निर्णयप्रति महामन्त्री थापाले कडा असन्तुष्टि जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने चेतावनी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विधानको व्यवस्थालाई बेवास्ता गरिएको आरोप लगाए।

‘कार्यवाहक सभापतिले कार्यकाल थप्ने र महाधिवेशनको प्रस्ताव पेस गर्नुभयो, हाम्रो असहमतिका बाबजुद बहुमतले पारित गरियो,’ उनले भने, ‘विधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै विशेष महाधिवेशन कार्यान्वयन गर्न नपर्ने ?’

कांग्रेस फुट्ने हो कि भन्ने प्रश्नमा थापाले प्रतिप्रश्न गरे,

‘विशेष महाधिवेशनले पार्टी फुट्छ भने त्यस्तो व्यवस्था विधानमै किन राखियो ? विधान पारित गर्नेहरूले यसको जवाफ दिनुपर्दैन ?’

उनले पार्टी सभापति शेरबहादुर देउवाले नै विशेष महाधिवेशन डाक्ने विश्वास व्यक्त गर्दै भने,

‘सभापतिज्यूले पटक–पटक पार्टी फुट्न दिन्नँ भन्नुभएको छ। त्यसैले विशेष महाधिवेशन उहाँकै नेतृत्वमा हुन्छ भन्ने मेरो अपेक्षा हो। नभए पनि विधानअनुसार अघि बढ्नु मेरो जिम्मेवारी हो।’

क्रियाशील सदस्यता विवाद

महामन्त्री थापाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको भनाइलाई खण्डन गर्दै क्रियाशील सदस्यता नटुंगिएको बहाना अस्वीकार गरे।

‘कांग्रेसको क्रियाशील सदस्यता फारममा सिरियल नम्बरको कुनै अर्थ छैन,’ उनले भने, ‘महाधिवेशन किन भएन भनेर सिरियल नम्बरको बहाना बनाउनु लाजलाग्दो हो।’

थापाका अनुसार कैलाली, कञ्चनपुर, मोरङ, नुवाकोटलगायत जिल्लाबाट १८ दिनसम्म फारम नआएको भए पनि विधानले दिएको अधिकार प्रयोग गर्न नपाइने भन्ने तर्क स्वीकार्य नभएको बताए।

‘विधानभन्दा माथि कोही छैन। विधानको रक्षा गर्न जुनसुकै हदसम्म जान तयार छौँ,’ उनले भने।

पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य

महामन्त्री थापाले पुस मसान्तभित्र काठमाडौंमा विशेष महाधिवेशन हुने दाबी गरे। कांग्रेस विधानको दफा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गर्न सकिने व्यवस्था रहेको उनले स्मरण गराए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन बाध्यकारी भएको बताए।

‘आजको निर्णयबाट नियमित महाधिवेशन नहुने निश्चित भयो,’ उनले भने, ‘हामी कांग्रेस छोड्दैनौँ, कांग्रेस फुटाउँदैनौँ। हामी सिंगो कांग्रेसको नेतृत्व गर्नेछौँ।’

कार्यसम्पादन समितिको निर्णयमा फरक मत

केन्द्रीय कार्यसम्पादन समितिले गत २८ असोजमा बुझाइएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव स्वतः समाप्त भएको निर्णय गरेको छ। निर्णयमा नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको उल्लेख छ।

तर उक्त निर्णयप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। असहमति जनाउनेमा सहमहामन्त्री फरमुल्ला मन्सुर तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मी पनि छन्।

अब विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आह्वान गर्ने कि प्रतिनिधिहरूको मागका आधारमा हुने भन्ने विषय केही दिनमै टुंगो लाग्ने नेताहरूले बताएका छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com