आजबाट श्रीस्वस्थानी व्रत प्रारम्भ,
Ecoecopolitics Desk१ हप्ता अगाडि
काठमाडौँ।हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ। तिथिका आधारमा मनाइने भएकाले प्रत्येक वर्ष फरक–फरक मितिमा पर्ने यो व्रत यस वर्ष आजबाट सुरु भई माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ।
व्रत अवधिभर श्रीस्वस्थानी व्रत कथा श्रवण तथा पूजा–आराधना गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने धार्मिक विश्वास छ।
पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ। हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्दै श्रीस्वस्थानी माताको व्रत गरेकी थिइन्। लामो समयको साधना, संयम र व्रतपछि पार्वतीको मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको शास्त्रहरूमा उल्लेख छ। यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ।
मार्कण्डेय पुराणको हिमवत् खण्डमा श्रीस्वस्थानी व्रतको विधि, महत्त्व र कथाहरू विस्तारपूर्वक वर्णन गरिएको छ। यस व्रतले सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ।
परम्परागत रूपमा विवाहित महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि यो व्रत बस्ने गर्दछन्। अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह र जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ। पछिल्लो समय अध्ययन, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले श्रीस्वस्थानी व्रत बस्ने गरेका छन्। यसलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्मशुद्धिको माध्यमका रूपमा लिइन्छ।
व्रत सुरु गर्ने विधि
शास्त्रीय विधानअनुसार व्रत सुरु गर्नुभन्दा एक दिनअघि शरीर शुद्ध गरी एक छाक भोजन गर्नुपर्ने मान्यता छ। पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ। पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी बालुवा वा माटोबाट शिवलिङ्ग स्थापना गरिन्छ। तिल, जौ, कुश, अक्षता, बेलपत्र, धूप, दीप, फलफूल र नैवेद्य अर्पण गरी “आजदेखि एक महिनासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु” भनी सङ्कल्प गरिन्छ।
व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान, नित्यकर्म, बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ ध्यान गर्ने परम्परा छ। व्रतालुहरूले असत्य, दुर्वचन, झगडा र नकारात्मक सोचबाट टाढा रहनुपर्ने मान्यता छ।
समापन विधि
माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजासहित १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, पान, सुपारीलगायत सगुन अर्पण गरिन्छ। पूजा सम्पन्नपछि शास्त्रीय विधिअनुसार अर्घ र प्रसाद वितरण गरिन्छ।
यस अवसरमा काठमाडौँको उत्तर–पूर्वी क्षेत्रमा पर्ने शाली नदीमा एक महिना लामो माधवनारायण मेला लाग्ने गर्दछ। माघ महिनामा यहाँ स्नान गर्दा पाप पखालिई पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ देशभरबाट लाखौँ भक्तजन सहभागी हुने गर्दछन्।








