आज पुस १५, गुरुङ समुदायले नयाँ वर्षको स्वागत गर्दै तमु ल्होसार मनाउँदै

Author ImageEcoecopolitics Desk२ हप्ता अगाडि
Image of आज पुस १५, गुरुङ समुदायले नयाँ वर्षको स्वागत गर्दै तमु ल्होसार मनाउँदै

काठमाडौँ – आज ल्होसार, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरिरहेका छन्। ‘ल्हो’को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ ‘फेरिनु’ भएकाले यस दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ समुदायले यो पर्वलाई नयाँ वर्षको रूपमा भव्य रूपमा मनाउने परम्परा छ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतजस्ता जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाइन्छ। अन्य क्षेत्र, जस्तै तामाङ र शेर्पा जातिको बसोबास भएको स्थानमा क्रमशः माघ र फागुनमा ल्होसार मनाइने विश्वास छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र त्यसपछि रात घट्दै जाने भएकाले पनि तमु ल्होसारको महत्व रहेको जानकारहरूले बताएका छन्। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। राजधानी काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत भेषभूषा लगाएर सहभागी भएका छन्। त्यहाँ गुरुङ परिकारको विशेष प्रदर्शनी राखिएको छ। आइतबारदेखि सुरू भएको ल्होसार महोत्सवमा हजारौं सर्वसाधारणले सहभागिता जनाइरहेका छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com