महाधिवेशन समयमै हुनैपर्छ, म सभापतिको उम्मेदवार हुँ : गगन थापा
Ecoecopolitics Desk३ हप्ता अगाडि
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफू सभापतिको उम्मेदवार रहेको र पार्टीको नेतृत्व सम्हाल्ने दाबी गरे।
महामन्त्री थापाले १५औँ महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने अवसर भएको बताए। “अधिवेशन नेतृत्व बदल्ने कुरा मात्रै होइन, पार्टीलाई नयाँ बनाउने समय पनि हो,”उनले भने।
क्रियाशील सदस्यता नवीकरण तथा विवरण समयमै केन्द्रमा नपठाइएको विषयमा असन्तुष्टि व्यक्त गर्दै थापाले भने, “अहिले तलबाट क्रियाशील सदस्यको काम आउन ढिलाइ भइरहेको छ। जसरी आउनुपर्ने हो, त्यसरी आइरहेको छैन।” तर उनले यस विषयमा कसैलाई दोष नदिने स्पष्ट पार्दै अझै पनि समयमै सबै प्रक्रिया पूरा गर्न सकिने विश्वास व्यक्त गरे।
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै थापाले महामन्त्रीको हैसियतले पार्टी सभापति शेरबहादुर देउवालाई पनि यही कुरा स्पष्ट रूपमा भनिरहेको बताए। “जुनसुकै मूल्य चुकाउन परे पनि महाधिवेशन निर्वाचनअघि नै हुनुपर्छ,” उनले जोड दिए।
पत्रपत्रिका र सार्वजनिक चर्चामा महाधिवेशन समयमै नहुने भन्ने धारणा आएकोप्रति टिप्पणी गर्दै थापाले भने, “बाटो ठीक हुँदाहुँदै पनि अब हिँड्न सकिँदैन भन्ने जस्तो भ्रम फैलाइएको छ। समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो र अझै पनि सकिन्छ।”
कार्यक्रमको अन्त्यतिर थापाले पुनः आफ्नो दाबी दोहोर्याउँदै भने, “म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु।”








