चुनाव कि पुनर्स्थापना? देउवा–ओली संवादले राजनीति तात्यो
Ecoecopolitics Desk३ हप्ता अगाडि
काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकार २१ फागुनमा निर्वाचन गर्ने तयारीमा जुटिरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाको रणनीतिमा सक्रिय देखिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २२ भदौअघिको राजनीतिक अवस्थातर्फ फर्किने वातावरण बनाउन संवादमा जुटेका हुन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेस र एमालेले संयुक्त रूपमा पूरक निवेदन दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यही क्रममा सोमबार देउवा र ओलीबीच महाराजगञ्जस्थित देउवानिवासमा लामो र अर्थपूर्ण छलफल भएको स्रोतको दाबी छ ।
सरकारले निर्वाचन तयारीबारे सिंहदरबारमा बोलाएको बहुपक्षीय छलफलमा देउवा र ओली स्वयं उपस्थित नभई तेस्रो तहका नेताहरू पठाएका थिए । सोही समय उनीहरूबीच प्रतिनिधिसभा पुनर्स्थापनालाई केन्द्रमा राखेर संवाद भएको बताइन्छ । सरकार निर्वाचन केन्द्रित छलफलमा व्यस्त रहँदा प्रमुख दुई दलका शीर्ष नेताहरू पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै सहकार्यको बाटोमा अघि बढेका देखिएका छन् ।
यसअघि १९ मंसिरमा देउवा–ओलीबीच पहिलोपटक भेट भएको थियो । त्यस भेटपछि कांग्रेसका आठ सांसदले २१ मंसिरमा प्रतिनिधिसभा पुनर्स्थापनाको रिट दर्ता गरेका थिए भने एमालेले १० मंसिरमै रिट दर्ता गरिसकेको थियो ।
अब कांग्रेस र एमाले दुवै दल सांसदहरूको हस्ताक्षरसहित संयुक्त पूरक निवेदन दर्ता गर्ने तयारीमा छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसका ६५ भन्दा बढी सांसदको हस्ताक्षर जुटाइसकेका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले पनि मंगलबार हस्ताक्षरसहित पूरक निवेदन दर्ता गराइने जानकारी दिइन् ।
थिङका अनुसार कांग्रेसका ६५ सांसद र तीन स्वतन्त्र सांसदसहित प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाइनेछ । जेन–जी आन्दोलनपछि असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै लोकतान्त्रिक व्यवस्थामा फर्कन पुनर्स्थापना अपरिहार्य भएको उनको भनाइ छ ।
यसैबीच, ओलीले यसअघि सम्पादकहरूसँगको छलफलमा देउवासँग ‘अर्थपूर्ण संवाद’ भएको संकेत गर्दै त्यसको परिणाम छिट्टै देखिने बताएका थिए । प्रतिनिधिसभा पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको सन्देश ओलीले देउवासमक्ष पुर्याएको कांग्रेसभित्र चर्चा छ ।
कांग्रेसले औपचारिक रूपमा निर्वाचनमा जाने निर्णय गरे पनि पछिल्लो समय देउवाको मनस्थिति बदलिएको कांग्रेस स्रोतको दाबी छ । निर्वाचनभन्दा प्रतिनिधिसभा पुनर्स्थापनाबाट आफू अनुकूल राजनीतिक समीकरण बन्ने देउवाको बुझाइ रहेको नेताहरू बताउँछन् । यही कारण देउवा पछिल्लो समय ओलीको लाइनमा उभिन थालेको कांग्रेसभित्र चर्चा छ ।
कांग्रेस सभापतिले बहुमत सांसदको हस्ताक्षर किन नजुटेको भन्दै पार्टीभित्र कडा प्रश्न उठाएपछि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन तीव्र भएको स्रोतको भनाइ छ ।








