भ्रष्टाचार र गम्भीर अपराधमा दोषी ठहरिएकालाई समानुपातिक उम्मेदवारी निषेध
Ecoecopolitics Desk३ हप्ता अगाडि
काठमाडौँ। सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्तिहरू राजनीतिक दलको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको सूचीमा परे अयोग्य ठहरिने भएका छन्। निर्वाचनसम्बन्धी प्रचलित कानुनले यस्तो व्यवस्था गरेको हो।
त्यस्तै, निर्वाचनसम्बन्धी कानुनअनुसार सजाय पाएका व्यक्तिले सजाय भोगिसकेको मितिले दुई वर्ष पूरा नभएसम्म उम्मेदवार बन्न नपाउने प्रावधान छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा अध्ययन समिति गठन गरी जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारणसमेत गरिसकेको जनाएको छ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषधको अवैध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणलगायत गम्भीर अपराधमा दोषी ठहरिएका व्यक्ति समानुपातिक उम्मेदवार बन्न अयोग्य हुनेछन्।
यसैगरी, नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय भई फैसला अन्तिम भइसकेका व्यक्तिहरू पनि उम्मेदवार बन्न पाउने छैनन्। सङ्गठित अपराधसम्बन्धी कसुरमा कैद भोगेका वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएकाहरू पनि अयोग्य ठहरिने कानुनी व्यवस्था छ।
जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका व्यक्ति उम्मेदवार हुन पाउँदैनन्। त्यस्तै, कालोसूचीमा रहेका व्यक्ति सो अवधिभर, कैदमा रहेका व्यक्ति कैद अवधिभर, मानसिक सन्तुलन ठीक नभएका तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन्।तर, नेपालको नागरिकता भएको, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै लाभको पदमा बहाल नरहेको र कुनै सङ्घीय कानुनले अयोग्य नठहराएको व्यक्ति भने उम्मेदवार हुन योग्य हुने व्यवस्था गरिएको छ।








