रवि लामिछानेः ‘मलाई सांसद–मन्त्री चाहिँदैन, मान्छे बन्न दिए पुग्छ’

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of रवि लामिछानेः ‘मलाई सांसद–मन्त्री चाहिँदैन, मान्छे बन्न दिए पुग्छ’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सांसद वा मन्त्री बन्ने रहर नभएको भन्दै मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्।

धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भ्रष्टाचारविरुद्ध लड्न पद आवश्यक नपर्ने जिकिर गरे।

‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ,’ उनले भने, ‘सांसद, मन्त्री बन्न त रोक्न सक्नुहुन्छ होला, तर मान्छे बन्न त दिनुहोला नि?’

 

आफूमाथि झूटा मुद्दा लगाएर संसदबाट हटाइएको आरोप लगाउँदै उनले सरकारलाई चुनौती दिए। ‘मलाई अनागरिक बनाइयो, जबरजस्ती झूटा मुद्दा लगाएर संसदबाट निकालियो। तर जनताको मनबाट बाहिर निकाल्न सक्नुहुन्छ? सक्छौ भने निकाल,’ उनले भने।

लामिछानेले आफूविरुद्ध मुद्दा लगाउने अघिल्लो सरकार अपदस्त भएर हेलिकप्टर चढी भागेको टिप्पणी पनि गरे। उनले अहिलेको सरकारले जेन–जी आन्दोलनको एजेण्डालाई आत्मसात् गरेर अघि बढे जनताको समर्थन पाउने दाबी गरे।

 

‘अघिल्ला सरकारबाट मप्रति प्रतिशोध साँधियो। तर मबाट प्रतिशोधपूर्ण राजनीति हुँदैन,’ उनले भने, ‘जेन–जीले जुन उद्देश्यका लागि बलिदान दिएका हुन्, त्यसमा सरकार अडिक रह्यो भने हामी सहयोग गर्न तयार छौँ।’

रास्वपा सतिसाल बनेर खडा हुने उल्लेख गर्दै लामिछानेले छिट्टै काठमाडौं गएर प्रधानमन्त्रीलाई भेट्ने जानकारी पनि दिए।

उनले भदौ २३ गते मान्छे मार्नेहरूका विरुद्ध जनता सडकमा उत्रिएको स्मरण गराउँदै त्यसबेला सरकारमा रहेका नेताहरूले २३ गतेको घटनालाई बेवास्ता गर्दै २४ गतेको मात्रै कुरा गरिरहेको आरोप लगाए।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com