गृह मन्त्रालयले भारी हिमपात र वर्षाबारे सतर्कता अपनाउन अनुरोध
EcoEcoPolitics३ हप्ता अगाडि
गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दिनहरूमा देशका विभिन्न प्रदेशमा भारी हिमपात र वर्षा हुने पूर्वानुमानका कारण सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक १३ गते बिहीबार बिहानदेखि २०८२ कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना छ। साथै, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
यस अवधिमा हुने वर्षा र हिमपातका कारण पहिरो, बाढी, हावाहुरी र चिसोको प्रभाव बढ्ने सम्भावना भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्राधिकरणको अनुरोध:
- अनावश्यक यात्रा नगर्नु, विशेष गरी हिमाली तथा पहाडी सडक क्षेत्रतर्फ।
- स्थानीय प्रशासन र सुरक्षाकर्मीले जारी गर्ने सूचनालाई पालना गर्न।
- सम्भावित जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा सर्ने तयारी राख्न।
- कृषि, पर्यटन, यातायात र हवाई सेवामा संलग्न व्यक्तिहरूले विशेष सतर्कता अपनाउन।
- विपद् व्यवस्थापन समिति र स्थानीय निकाय सधैं तयारी अवस्थामा रहन।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, “हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दा, यात्रु र पर्यटक सबैले अत्यधिक सतर्कता अपनाउन जरुरी छ, किनकि लगातारको हिमपात र वर्षाले जनजीवनमा असर पुर्याउने जोखिम उच्च रहेको छ।”








