गुल्मीका इन्द्र दम्पती : पाँच लाख प्याजका बेर्नादेखि एक टनभन्दा बढी तरकारी उत्पादन

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of गुल्मीका इन्द्र दम्पती : पाँच लाख प्याजका बेर्नादेखि एक टनभन्दा बढी तरकारी उत्पादन

गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकका इन्द्र विश्वकर्मा र प्रेमकला गाहा दम्पती पछिल्ला वर्षमा सफल कृषकका रूपमा चर्चामा छन्। प्याज रोपाइँको सिजन सुरु भएसँगै उनीहरूले करिब पाँच लाख प्याजका बेर्ना उत्पादन गरी स्थानीय तथा बाहिरी बजारमा बिक्री गरिरहेका छन्। दुई रुपैयाँ प्रतिबिरुवा मूल्य तोकिएको प्याजका बेर्ना मोटरसाइकलमार्फत नजिकका बजारसम्म पु¥याउँदै आएका छन्, जसमा अहिलेसम्म दुई लाखभन्दा बढी बेर्ना बिक्री भइसकेका छन्।

यस सिजनमा दम्पतीको बारीमा ८ हजार ‘गोपी’ उत्पादन भएको थियो, जसको २५ क्विन्टल बजार पठाइसकिएको छ। गोपीबाहेक १०० क्विन्टलभन्दा बढी तरकारी समेत बिक्री भएको छ। क्याप्सिकम, सिमी, काँक्रा र टमाटर खेतीमा सक्रिय इन्द्रले १५ क्विन्टल सिमी–क्याप्सिकम तथा करिब ७० क्विन्टल टमाटर बिक्री भएको बताए। भक्तपुरे काँक्राका सयौँ बोटबाट समेत राम्रो आम्दानी भएको छ, जसले मिलेर एक टनभन्दा बढी तरकारी उत्पादन बजार पसेको दम्पतीको दाबी छ।

२०७९ सालमा असिनाले सम्पूर्ण खेती नष्ट भएपछि दम्पतीले पाँच लाख लगानीमा हेल्दी–नेट प्रविधिबाट सुरक्षित उत्पादन सुरु गरेका थिए। अहिले उनीहरूले कुखुरा, बाख्रा र बङ्गुर पालन पनि गर्दै आएका छन्। ८ सयभन्दा बढी कुखुरा तथा १० बाख्रासहितको पशुपालनले तरकारी आम्दानीसँगै आयका अन्य स्रोत पनि थपिएको छ।

वडासदस्य समेत रहेकी प्रेमकला गाहाले गाउँमै बसेर परदेश बराबरको आम्दानी लिन सकिन्छ भन्ने उदाहरण आफूहरूले देखाएको बताइन्। सत्यवती गाउँपालिकाले स्थानीय कृषकका उत्पादन बुटवलको २८ नं. सटरमार्फत बिक्री गर्ने व्यवस्था मिलाएकाले बजार सहज भएको उनीहरूको अनुभव छ। वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या कायम रहने भएकाले राज्यले कृषि ढुवानीका लागि पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने दम्पतीले माग गरेका छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com