कांग्रेस फागुन २१ गते निर्वाचनमा जाने निर्णय।”

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of कांग्रेस फागुन २१ गते निर्वाचनमा जाने निर्णय।”

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले २१ फागुनका लागि घोषणा भइसकेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। एमालेले सडक आन्दोलनमार्फत प्रतिनिधिसभा पुनःस्थापनाको दबाब बढाइरहेको बेला कांग्रेसले भने निर्वाचनमार्फत नै वर्तमान राजनीतिक संकटको समाधान खोज्ने स्पष्ट नीति लिएको हो। कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन विषय भएको बताउँदै निर्वाचन नै संवैधानिक र राजनीतिक निकास हो भन्ने मनस्थिति बनाएको छ।

 

बैठकले संविधान रक्षा, जेन–जी पुस्ताद्वारा उठाइएका परिवर्तनका आवाजलाई संस्थागत गर्न तथा लोकतान्त्रिक उपलब्धिको संरक्षण गर्न निर्वाचन अपरिहार्य रहेको ठहर गरेको छ। पार्टीभित्र केही सांसद र नेताहरूले पुनःस्थापनाको एजेन्डा अघि बढाउने प्रयास गरे पनि शीर्ष नेतृत्व तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको दबाबका कारण कांग्रेस पुनःस्थापनाभन्दा निर्वाचनतर्फ उन्मुख भएको देखिन्छ। कांग्रेसले निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक स्थिति निर्माण गर्नुपर्ने माग पनि गरेको छ।

 

आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने जिम्मेवारी मुख्यसचिव कृष्ण पौडेललाई दिइएको छ। तर दल दर्ताको पत्रमा सभापति शेरबहादुर देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्कामध्ये कसको नाम राख्ने भन्ने विषयमा पार्टीभित्र बहस तीव्र बनेको छ। सक्रिय राजनीतिबाट अलग बस्ने घोषणा गरेका देउवा पुनः सक्रिय हुन खोजेको संकेत दिन नहुने पक्ष र संस्थागत रूपमा देउवाकै नाम कायम रहनुपर्ने पक्षबीच मतभेद देखिएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महत भने विद्यमान व्यवस्थाअनुसार नै प्रक्रिया अघि बढ्ने स्पष्ट गर्छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com