दुर्गा प्रसाईँको महाअभियानले नेपाल बन्द फिर्ता लियो
EcoEcoPolitics१८ घण्टा अगाडि
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानबीच शनिबार बालुवाटारमा भएको वार्ताले नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताल फिर्ता लिने सहमति गरेको छ। वार्तामा महाअभियानले उठाएको २७ बुँदे मागबारे विस्तृत छलफल भएको र शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।
सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले सहभागिता जनाएका थिए। महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ वार्तामा सहभागी भएका थिए। दुवै पक्षले उठाइएका मुद्दाहरू सम्बोधनका लागि निरन्तर छलफल र सहजीकरणलाई अघि बढाउने सहमति जनाएका छन्।
वार्ताका सहभागीले महाअभियानका मागहरूलाई संस्थागत रूपमा समाधान गर्न अर्को चरणको वार्ता नेतृत्व तहसहित छिट्टै गर्ने समझदारी पनि गरेका छन्। सहमतिसँगै आज घोषणा गरिएको नेपाल बन्द तथा आमहड्ताल औपचारिक रूपमा फिर्ता भएको जनाइएको छ।








