प्रधानमन्त्री कार्कीले सचिवलाई कडाइका साथ निर्देशन: ‘बहानाबाजी होइन, नतिजामुखी काम चाहिन्छ’

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले सचिवलाई कडाइका साथ निर्देशन: ‘बहानाबाजी होइन, नतिजामुखी काम चाहिन्छ’

प्रधानमन्त्री सुशीला कार्कीले आफू मातहत रहेका मन्त्रालयका सचिवहरूलाई बोलाएर सेवा प्रवाह सुधार र भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ काम गर्न स्पष्ट निर्देशन दिएकी छन्। मन्त्री नहुँदा काम रोकिएको गुनासो नआओस् भन्दै उनले आवश्यक अधिकार प्रत्यायोजन गरिसकेको र थप आवश्यक परे दिइने बताइन्।

 

जेनजी आन्दोलनको भावनाअनुसार छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ब्युरोक्रेसी नै स्थायी सरकार भएको हुँदा सचिवहरूले अनुभव, दक्षता र विशेषज्ञताको भरमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन्। उनले भनिन्, “हामी अस्थायी हौँ, तपाईंहरू स्थायी। निर्देशन त दिन सक्छु, तर कार्यान्वयन तपाईंहरूबाटै हुनुपर्छ। बहानाबाजी होइन, नतिजामुखी काम चाहिन्छ।”

 

मन्त्रीको भौतिक उपस्थितिको अभावलाई कारण देखाएर रोकिएका कामहरू तत्काल अघि बढाउन उनले निर्देशन दिँदै राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक सार्वजनिक सेवामा नागरिकको भौतिक उपस्थितिलाई शून्यमा झार्ने लक्ष्यसहित ई–गभर्नेन्स प्रणाली युद्धस्तरमा लागू गर्न सम्बद्ध निकायलाई आदेश दिएकी छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com