विश्वकै उत्कृष्ट ट्रेकिङ मार्ग अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण
EcoEcoPolitics२ दिन अगाडि
गण्डकी — गत कात्तिक महिनामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका विभिन्न गन्तव्यमा ३५ हजार ९५२ विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब आठ प्रतिशतले बढी हो। विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० तथा २०८० मा २४ हजार ४१६ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए।
नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटनयामका रूपमा लिइँदै आएको छ। दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रमा आउने गरेको एक्याप प्रमुख डा. रविन कडरिया बताउँछन्। मुक्तिनाथलगायत धार्मिक गन्तव्यमा भारतीय पर्यटकले प्रायः सडकमार्ग रोज्ने गरेको हुँदा, अन्य मुलुकका पर्यटक भने पदयात्रालाई प्राथमिकता दिन्छन्।
एक्यापले अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै आउने विदेशी पर्यटकको मात्र तथ्यांक संकलन गर्छ। सडकमार्गबाट आउने आन्तरिक पर्यटकको संख्या भने झनै उल्लेख्य रहेको डा. कडरियाले बताए। कात्तिक महिनामा पर्ने चाडपर्व, विदा र अनुकूल मौसमका कारण आन्तरिक पर्यटकको आगमनसमेत बढ्ने गरेको छ।
यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, घोरेपानी–पुनहिललगायतका लोकप्रिय स्थानमा आन्तरिक र बाह्य पर्यटकको भीड बढ्ने गर्दछ। करिब ७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहअन्तर्गत ८७ वडा पर्दछन्।
हिमशृङ्खला, विविध भूपरिवेश, पदयात्रा–मैत्री पूर्वाधार र स्थानीय बासिन्दाको आतिथ्यका कारण अन्नपूर्ण चक्रीय पदमार्ग विश्वकै उत्कृष्ट ट्रेकिङ गन्तव्यका रूपमा परिचित छ। कास्की, लमजुङ, मनाङ र म्याग्दीको अलग–अलग मार्गबाट छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने भएकाले यो क्षेत्र वर्षेनी पर्यटकको मुख्य आकर्षण बन्दै आएको छ।








