बन्चरेडाँडाको फोहोर अवरोध हट्यो, ११ बुँदे सहमतिपछि संकट समाधानतर्फ
Ecoecopolitics Desk६ महिना अगाडि
काठमाडौँ । काठमाडौँ उपत्यकाको लामो समयदेखिको फोहोर संकट समाधानतर्फ अघि बढेको छ। बन्चरेडाँडामा जारी अवरोध हटाउन सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा दुई दिनसम्म चलेको वार्ता सफल बनेपछि ११ बुँदे ऐतिहासिक सहमति भएको छ।
बुधवार र बिहीबार ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, काठमाडौं महानगरपालिका, स्थानीयवासी, सुरक्षा निकाय तथा मन्त्रालयका प्रतिनिधिबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेपछि स्थानीयले तत्काल अवरोध हटाउन सहमति जनाएका छन्।
विगत धेरै वर्षदेखि फोहोर व्यवस्थापनका कारण स्वास्थ्य जोखिम, वातावरणीय असर र दैनिक जीवनमा परेको समस्याले स्थानीय आक्रोश बढ्दै आएको थियो। अवरोधकै कारण काठमाडौँ उपत्यकामा फोहोर थुप्रिँदै गम्भीर स्थिति बनेपछि सरकार उच्च स्तरबाट संवादमा जुटेको थियो।








