मुस्ताङमा चार महिनामा दुई लाख बढी पर्यटक आगमन
EcoEcoPolitics३ दिन अगाडि
मुस्ताङ । धार्मिक तथा पर्यटकीय क्षेत्रमा परिचित मुस्ताङमा चालु आवको पहिलो चार महिनामा दुई लाख दुई हजार ३५१ जना पर्यटक पुगेका छन्। साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ आन्तरिक र ४१ हजार ४३० विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ जना पर्यटक मुस्ताङ आएका छन्।
गत आव २०८१/८२ मा मात्रै बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख पाँच हजार ७७९ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। जसमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटक रहे।
चालु आवको पहिलो चौमासिकमा गत वर्षको कुल पर्यटक संख्याको २८.७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको तथ्याङ्कले देखाउँछ। यद्यपि जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण यस अवधिमा पर्यटनमा आंशिक असर परेको पनि प्रहरीको निष्कर्ष छ।
पर्यटन बढ्नुका कारण
पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज बन्दै गएपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन तीव्र बढेको छ। बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाइ सडक कालोपत्रे सम्पन्न भएपछि यात्रा सहज बनेको छ।
मुक्तिनाथ दर्शनका लागि आउने पर्यटकमध्ये करिब एक तिहाइ पर्यटक माथिल्लो मुस्ताङ तथा कोरला नाका भ्रमणमा जाने गरेको तथ्याङ्कले देखाउँछ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार लोमान्थाङ दरबार, झोङ गुफा, सदियौँ पुराना गुम्बा, माने–छोर्तेन, मानव निर्मित गुफा तथा अनौठो भू–जैविक विविधता हेर्न पर्यटकको रुचि बढेको छ। यसैसँगै यो आवदेखि हिमचुचुराको आरोहण खुला भएपछि विदेशी पर्यटक संख्या थप वाढेको उनले बताए।
आन्तरिक पर्यटनमा विशेष वृद्धि
मुक्तिनाथ दर्शनका लागि पुगेका आन्तरिक पर्यटक कागबेनी धाममा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने परम्पराका कारण पनि आन्तरिक यात्रु संख्या बढेको पाइएको छ।
त्यसैगरी लमजुङको बेँसीसहरबाट मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने विदेशी पर्यटक अधिकांश जोमसोमबाट हवाई मार्ग प्रयोग गरी फर्किने गर्छन्।
मुस्ताङ भ्रमणमा आउनेले ढुम्बाताल, यारुझो भ्युटावर, जोमसोम बजार, मार्फा गाउँलगायत महत्वपूर्ण गन्तव्य अवलोकन गर्न नछोड्ने गरेका छन्।
मुस्ताङमा सडक सुविधा र आकर्षक गन्तव्यहरूको लोकप्रियता बढ्दै जाँदा आगामी महिनाहरूमा पर्यटन झनै उकासिने अपेक्षा गरिएको छ।








