अभिव्यक्तिमा मर्यादा कायम गर्न प्रधानमन्त्रीको दलहरूलाई कडा आग्रह

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of अभिव्यक्तिमा मर्यादा कायम गर्न प्रधानमन्त्रीको दलहरूलाई कडा आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका केही नेताहरूले प्रयोग गरिरहेका द्वेषपूर्ण तथा उग्र अभिव्यक्तिलाई सरकारले कडाइका साथ कारबाही गर्ने चेतावनी दिएकी छन्। बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले चुनावी प्रचारप्रसारमा मर्यादा, राजनीतिक संस्कार र अनुशासन कायम राख्न सबै दलका नेताहरूलाई सचेत गराइन्।

उनका अनुसार केही नेताहरूले प्रयोग गरिएका हेट स्पीच प्रकारका शब्दहरूले समाजमा अनावश्यक तनाव र विभाजन सिर्जना गर्ने प्रयास देखिएको छ, जुन आचारसंहिताको गम्भीर उल्लङ्घन हो। यस्तो कार्यमा संलग्न उम्मेदवार वा नेताविरुद्ध तत्काल र सार्वजनिक रूपमा कारबाही गर्न सरकार निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले अभिव्यक्ति मात्र नभई चुनावी खर्च, प्रचार शैली र राज्य शक्तिको दुरुपयोगसम्बन्धी अनियमिततालाई समेत रोक्न सरकार कठोर रूपमा प्रस्तुत हुने उल्लेख गरिन्। प्रचार–प्रसार अवधि २१ दिनभन्दा बढी नहुने व्यवस्था मिलाई चुनावलाई मितव्ययी, मर्यादित र पारदर्शी बनाउने प्रयास भइरहेको उनले बताइन्।

 

निर्वाचन आयोगलाई सबल बनाउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उनले आयोगले ल्याउने कार्ययोजना र निर्देशनहरू कार्यान्वयन गर्न सरकारले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरिन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com