कीर्तिपुर रंगशाला १० महिनामै तयार: क्यान अध्यक्षले ओली सरकारलाई दिए धन्यवाद

Author ImageEcoEcoPolitics१ हप्ता अगाडि
Image of कीर्तिपुर रंगशाला १० महिनामै तयार: क्यान अध्यक्षले ओली सरकारलाई दिए धन्यवाद

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लडलाइट जडानसहितको रंगशाला निर्माण परियोजना समयमै सम्पन्न भएकोमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विशेष धन्यवाद व्यक्त गरेका छन्।

 

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सरकारद्वारा तोकिएको १० महिनाको समयसीमाले परियोजना सफलतापूर्वक सम्पन्न हुन निर्णायक भूमिका खेलेको बताए।

 

‘नेपाली क्रिकेटले वर्षौंदेखि देखेको सपना पूरा हुने क्रममा छ,’ चन्दले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा जस्तै नेपालमा पनि डे–नाइट क्रिकेट हेर्ने चाहना आज सम्भव बन्दै छ। यदि ओली सरकारले समयसीमा नतोकेको भए परियोजना अझै वर्षौं ढिलागरी रहने थियो।’

 

उनका अनुसार खेलकुद मन्त्रालय र परिषद्को क्षमताले यति ठूलो परियोजना समयमै सम्पन्न गर्न कठिन हुने भएकाले क्यानले शहरी विकास मन्त्रालयमार्फत काम अघि बढाउन सुझाव दिएको थियो। ‘सोही रणनीतिले परियोजना सफल बनायो,’ उनले भने।

 

अध्यक्ष चन्दले वर्तमान सरकारले परियोजनाको दोस्रो चरणप्रति देखाएको उत्साहको पनि प्रशंसा गरे। सफल रंगशालाले इच्छाशक्ति भए नेपालमै ठूला परियोजना समयमा सम्पन्न गर्न सकिन्छ भन्ने प्रमाण दिएको उनको भनाइ थियो।

 

यस्तै, उनले प्रदेश सरकारहरू पनि खेलकुद पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिए। ‘देशमा सातवटा प्रदेश सरकार छन्। कम्तीमा हरेक प्रदेशमा १० हजार क्षमताको फ्लडलाइटसहितको रंगशाला बन्नैपर्छ,’ चन्दले भने।

 

खेलकुद पूर्वाधार निर्माणमा हुने राजनीतिकरणप्रति असन्तोष जनाउँदै उनले आवश्यकता अनुसार प्राथमिकता तोक्दा पनि नेताहरूले व्यक्तिगत स्वार्थअनुसार बजेट अन्यत्र सार्ने प्रवृत्ति रोक्न अनुरोध गरे।

 

सोमबारबाट सुरु हुन लागेको एनपीएलको दोस्रो संस्करण नेपाली क्रिकेट विकासको महत्वपूर्ण मोड हुने विश्वास समेत चन्दले व्यक्त गरे।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com