नेपाली सेनामा ३६०० सैनिक भर्ना : जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आह्वान
EcoEcoPolitics१ हप्ता अगाडि
नेपाली सेनाले सैनिक पदका लागि ३६०० जना नयाँ भर्ना खुलाउने निर्णय गर्दै जंगी अड्डाबाट औपचारिक विज्ञापन जारी गरेको छ। सेनाका विभिन्न पृतना, गण तथा बाहिनीहरूमा रिक्त पदहरू पूर्तिका लागि यो वर्ष ठूलो संख्यामा नयाँ भर्ना लिन लागिएको हो।
सूचना अनुसार सबैभन्दा धेरै ४२५ जना कोटामा सुर्खेतको निमारेस्थित श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टर राखिएको छ। उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, इटहरीस्थित पूर्वी पृतना मुख्यालयका लागि २०० जना, भक्तपुर सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, र काभ्रे भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना दरखास्त मागिएको छ। अन्य गण तथा एकाइहरूमा समेत पदअनुसार संख्या खुला गरिएको छ।
सैनिक पदका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ। लेटर ग्रेडिङ प्रणालीअनुसार कक्षा ८ मा न्यूनतम GPA 2.0 तथा कुनै पनि विषयमा D+ भन्दा कम नहुने मापदण्ड लागू हुनेछ। SEE वा सोभन्दा माथिको प्रमाणपत्र पेश गर्नेका लागि भने GPA 1.6 अनिवार्य रहनेछ।
यससँगै सेनाले ब.का.सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार, चर्मकर्मी लगायत विभिन्न ट्रेडका फलोअर्स पदका लागि पनि जनशक्ति माग गरेको छ। फलोअर्स पदमा आवेदन दिन साधारण लेखपढ गर्न सक्ने योग्यता नै पर्याप्त मानिएको छ।
दरखास्त कात्तिक २८ देखि मंसिर २७ गतेसम्म नियमित रूपमा दिन सकिनेछ भने मंसिर २८ देखि पुस ५ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ। खुलातर्फ दस्तुर १५० रुपैयाँ, समावेशीतर्फ थप २० प्रतिशत, र ट्रेड फलोअर्सका लागि १०० रुपैयाँतोकिएको छ।
नेपाली सेनाले तोकेको विभिन्न भर्ना छनौट कार्यालयहरूमा स्वयं उपस्थित भई आवेदन फारम बुझाउनुपर्नेछ। सेनाले भर्नामा पारदर्शिता र प्रक्रियागत अनुशासन कडाइका साथ पालन गरिने जनाएको छ।








