ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ दर्ता प्रक्रिया अघि बढ्दै, एलिजा गौतम उपाध्यक्ष बन्ने तयारी
Ecoecopolitics Desk८ महिना अगाडि
काठमाडौं । ‘जनादेश पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। पार्टीको प्रस्तावित संयोजकका रूपमा कानून व्यवसायी रमण कर्ण रहेका छन् भने पत्रकार ऋषि धमलालाई पार्टीको संरक्षक बनाइएको स्रोतले जनाएको छ।
निर्वाचन आयोगमा बुझाइएको प्रस्ताव अनुसार पार्टीले ७५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने तयारी गरेको छ। प्रारम्भिक संरचनामा संयोजक र केन्द्रीय सदस्य मात्रै समेटिएका छन्। उक्त कमिटीमा जेनजी समूहका युवाहरूको पनि प्रतिनिधित्व रहने बताइएको छ।
त्यसैगरी, एलजीबिटीक्यू (तेस्रोलिंगी) समुदायबाट लक्ष्मी घलान र सम्झना कुँवरलाई केन्द्रीय कमिटीमा स्थान दिइएको छ। यस्तै, ऋषि धमलाकी पत्नी एलिजा गौतम र एमाले परित्याग गरी जेनजी आन्दोलनमा लागेकी जस्मिन ओझा पनि केन्द्रीय सदस्यका रूपमा समावेश छन्।
स्रोतका अनुसार पार्टीले आउँदो एक–दुई दिनभित्र पदाधिकारी टिमको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। प्रारम्भिक प्रस्तावमा एलिजा गौतमलाई उपाध्यक्ष बनाउने योजना रहेको पनि बताइएको छ।
गौरतलब छ, **गौतम यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)**की केन्द्रीय सदस्य थिइन्। उनले २०७९ साल माघमा नाउपामा प्रवेश गरेकी थिइन् तर पाँच महिनामै पार्टी परित्याग गरेर राजनीतिक गतिविधिबाट टाढा भएकी थिइन्। अब फेरि ‘जनादेश पार्टी नेपाल’ मार्फत उनले राजनीतिमा पुनरागमन (कमब्याक) गर्न लागेकी हुन्।








