रामकुमारी झाँक्री नेकपा एमालेमा फर्किँदै,

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of रामकुमारी झाँक्री नेकपा एमालेमा फर्किँदै,

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री नेकपा (एमाले)मा प्रवेश गर्ने भएकी छन्। उनी सोमबार औपचारिक रूपमा एमालेमा प्रवेश गर्न लागेकी हुन्।

 

झाँक्रीले  सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफू ‘घर फर्क अभियान’मा सहभागी हुने घोषणा गरेकी छन्। उनले लेखेकी छन्, “यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाहनेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”

 

नेकपा (एमाले)ले भोलि दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्ने तयारी गरेको छ। सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने जनाइएको छ।

 

केही दिनअघि एमाले अध्यक्ष ओलीले विगतमा पार्टी निर्माण र सुदृढीकरणमा योगदान पुर्‍याएका तर पछि अन्य दलतर्फ गएका सबै नेता–कार्यकर्तालाई एमालेमा फर्कन सार्वजनिक आह्वान गरेका थिए।

 

रामकुमारी झाँक्रीको एमाले फर्कने निर्णयले ‘घर फर्क अभियान’लाई थप गतिशील बनाउने एमाले निकट नेताहरूको दाबी छ। झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियूकी पूर्वअध्यक्ष समेत रहेकी थिइन् र लामो समयदेखि वाम आन्दोलनमा सक्रिय नेतृको रूपमा पहिचान बनाएकी छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com