सिन्धुलीको एक होटलमा मधेस प्रदेशका नयाँ मुख्यमन्त्री को सपथ

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of सिन्धुलीको एक होटलमा मधेस प्रदेशका नयाँ मुख्यमन्त्री को सपथ

मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी छन्।

 

स्रोतका अनुसार भण्डारीले यादवलाई सिन्धुलीको एक होटलमा गोप्य रूपमा शपथ ग्रहण गराएकी हुन्। संविधानको धारा १६८(३)बमोजिम यादव प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मधेस प्रदेशका नयाँ मुख्यमन्त्री बनेका हुन्।

 

जनकपुरमा विरोध प्रदर्शन भइरहेका कारण शपथ कार्यक्रम सिन्धुलीमा सारिएको बताइन्छ। जनकपुरमा वातावरण असहज भएपछि प्रदेश प्रमुखले सुरक्षा कारण देखाउँदै बाहिरैबाट शपथ गराएको स्रोतको भनाइ छ।

 

यसअघि, विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री जितेन्द्र सोनलले केही दिनअघि राजीनामा दिएका थिए। सोनलले प्रदेश प्रमुख भण्डारीमाथि धोका दिएको आरोप लगाएका छन्।

 

उनी लेख्छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरी सिमानाको होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलिन्। एकातिर महिला र स्वास्थ्यको कुरा गरिन्, अर्कोतिर गोप्य रूपमा शपथ खुवाइन्।”

 

यस घटनापछि मधेस प्रदेशको राजनीतिमा फेरि तनाव देखिएको छ। अब नयाँ मुख्यमन्त्री यादवले आगामी दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रक्रिया बाँकी छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com