नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन ढिला,

Author ImageEcoEcoPolitics१ हप्ता अगाडि
Image of नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन ढिला,

काठमाडौं — राजधानी प्रवेशको मुख्य प्रवेशद्वार मानिने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब अन्तर्राष्ट्रिय सेवा प्रदायकमार्फत सञ्चालनमा ल्याइने भएको छ। आयोजना कार्यालयले १६ कात्तिकमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ।

 

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सेवा प्रदायक छनोटका लागि ४५ दिनको समय दिइएको छ। बोलपत्र २ पुसमा खोलिने र मूल्यांकन गर्न एक महिना लाग्ने उनले बताए। “यदि बिडर धेरै भए मूल्यांकनमा थप समय लाग्न सक्छ,” उनले भने।

 

पहिले अंग्रेजी नयाँ वर्ष २०२६ बाट सञ्चालनमा ल्याउने तयारी भए पनि सेवा प्रदायक छनोटमा ढिलाइ हुँदा अब माघ अन्तिम वा फागुन पहिलो साताबाट सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।

 

आयोजनाले हालसम्म सुरुङ निर्माणको ९७ प्रतिशत काम पूरा गरिसकेको छ। बाँकी मुख्य चुनौती भने धादिङतर्फ सुरुङको मुख नजिकको पहिरो व्यवस्थापन रहेको छ। जापानी परामर्शदाताको सहयोगमा पहिरो रोकथामका उपाय डिजाइन भइरहेको र छिट्टै कार्यान्वयन गरिने नेपालले बताए।

 

त्यसैगरी, सुरुङभित्रका सबै उपकरण — जस्तै सीसी क्यामेरा, लाइट, जेट फ्यान — परीक्षण भइसकेको छ। बाहिरको टोल प्लाजा र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेट निर्माण अन्तिम चरणमा पुगेको छ।

 

टोल शुल्क तोकिएको

 

सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइनेछ। मन्त्रिपरिषद्को गत २६ साउनको बैठकले सडक बोर्ड नेपालको प्रस्तावमा शुल्क स्वीकृत गरिसकेको छ।

• कार र भ्यान: काठमाडौं भित्रिँदा रु ६५, बाहिरिँदा रु ६०

• मिनीबस, ट्रक, टिपर: भित्रिँदा रु ११५, बाहिरिँदा रु ८०

• बस, ट्रक: भित्रिँदा रु २६०, बाहिरिँदा रु २००

• ठूला ट्रक/लरी: भित्रिँदा रु ६००, बाहिरिँदा रु २५०

 

सुरुङ सञ्चालनमा वार्षिक २५–३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

 

निषेधित सवारीसाधन

 

‘नागढुंगा–सिस्ने खोला सुरुङमार्ग यातायात सञ्चालन निर्देशिका, २०८१’ अनुसार सुरुङमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे र नन-मोटोराइज्ड सवारीसाधन प्रवेश गर्न पाउने छैनन्। त्यस्तै पेट्रोल, डिजेल, ग्यास जस्ता प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्रीबोकेका सवारीलाई पनि निषेध गरिएको छ।

 

यो सुरुङको निर्माण २०७६ कात्तिक ४ गते सुरु गरिएको हो। सुरुवाती योजना अनुसार ४२ महिनाभित्र सकिनुपर्ने भए पनि कोभिड–१९ महामारी र स्थानीय अवरोधका कारण ढिलाइ भएको हो।

मुख्य सुरुङ २,६८८ मिटर र आपत्कालीन सुरुङ २,५५७ मिटर लामो छ। निर्माण कार्य जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।

 

👉 आयोजनाको लक्ष्य अनुसार सबै तयारी पूरा भए फागुन पहिलो साताबाट नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्नेछ।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com