नेपालमा बीमामा हुने ठगी‚ यसको असर र समाधानका उपायहरु |
कविता पाण्डेय२ हप्ता अगाडि
बीमामा हुने ठगी‚ यसको असर र समाधानका उपायहरु
बीमा भनेको जीवन र सम्पति उपर भएको आर्थिक क्षति वा नोक्सानीमा दिइने क्षतिपूर्तीको ग्यारेन्टी हो ।अप्रत्यासित रुपमा कुनै घटना घटी बीमा गरिएको जीवन र सम्पतिमा पर्न सक्ने हानी नोक्सानी गराउने सम्भाव्य घटना नै बीमा जोखिम हस्तान्तरण गर्ने उपाय हो ।त्यसैले बीमा हुन अनिश्चित प्रकारको जोखिम हुनैपर्दछ ।
प्राचीन कालमा व्यापारिक कर्महरु प्रारम्भ भए त्यसबेला देखि नै व्यपारको सुरक्षाको खोजी र जोखिमबाट बच्ने उपायको खोजिबाट नै बीमाको जन्म भएको हो । नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन । वि.स.२००७ सालको क्रान्ति भन्दा पहिले जुद्ध म्याच फ्याक्ट्री‚ विराटनगर कटन मिल आदि जस्ता उद्योग स्थापना भएका थिए त्यसको वित्तीय सहयोगका निम्ती नेपाल बैंक लिमिटेड वि.स. १९९४ मा स्थापना भइसकेको थियो । बैंकले कर्जा प्रवाह गर्दा धितोको बीमा गर्ने प्रावधान रहेकोले भारतका केही बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा गर्ने गरेको पाइन्छ ।
बीमा कम्पनी तथा बिमितबाट अनुचित रुपमा वितीय लाभ प्राप्त गर्नको लागि गरिने फर्जी दाबीलार्इ बीमामा हुने ठगी भनिन्छ । बीमा प्रस्ताव फारम भर्दा गलत सुचना दिएर‚ सूचना लुकाएर‚स्वास्थ्य जोखिममङ्कनमा लापरवाही गरेर दाबी प्राप्त गर्न तथा बीमाका सिद्धान्तको पालना नगरी झुटा विवरण उपलब्ध गरार्इ बीमामा जालसाजी (Frauds) गर्ने तथा ठगी गर्ने प्रचलन बीमा बजारमा बढ्दै गइरहेको देख्न सकिन्छ ।
बीमामा हुने ठगी एक अपराध हो । बीमामा हुने ठगी विरुद्धमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्रधिकरणले बीमा ऐन‚२०७९ बमोजिम दण्डको दायरामा ल्याउन सक्दछ । बीमा ऐन‚२०७९ को दफा १०१ मा बीमकबाट बीमा जालसाजी ( Insurance Fraud) भएमा बीमक समस्या ग्रस्त भएको मानिने तथा बीमकलार्इ समस्या ग्रस्त बीमक घोषणा गर्न सक्ने भनि उल्लेख गरिएको छ । त्यस्तै बिमित तथा बीमा अभिकर्ताबाट बीमा जालसाजी भएमा विभिन्न दण्ड सजाय उल्लेख गरी बीमा अभिकर्ता र बिमितलार्इ कानूनी रुपमा जिम्मेवार बनाइएको छ ।
बीमाका विभिन्न पक्षहरु जस्तै बीमा अभिकर्ता‚ बीमा कम्पनी‚बिमित‚ बीमा सर्भेयर‚ तथा सरोकारवालाहरुबाट बीमा ठगि तथा जालसाजी हुन सक्दछ । बीमामा हुने ठगी तथा जालसाजी रोक्न बीमा नियमनकारी निकायले नीति निर्माण गर्ने‚ दण्ड सजाय निधारण गर्ने तथा सुपरिवेक्षणलार्इ प्रभावकारी बनाउने जस्ता कार्य गर्दछ ।
बीमा प्रस्ताव फारम भर्दा गलत सूचना दिने ‚ पूर्ण जानकारी नदिने‚ अभिकर्ताद्धारा संकलित बीमाशुल्क व्यतिगत प्रयोजनमा खर्चिने जस्ता कार्य हुन सक्दछन । यस्ता कार्यले गर्दा बीमा दाबीमा बिमितले कानूनी अधिकार गुमाउनुपर्ने अवस्था हुन्छ । सम्पतिको जोखिमाङ्कन गर्ने समयमा सम्पतिको उचित मूल्याङ्कन नगरी न्यून मूल्याङ्कन गरी बिमितको कर्जा बमोजिमको अशंको मात्र बीमा गर्ने प्रवृति बढ्दो छ । यस्तो अवस्थामा कुनै कारणवश सबै भौतिक सम्पति आगलागी वा अन्य कुनै कारणले नष्ट भएको अवस्थामा बीमा बापत नोक्सानी भएको दाबीको रकम भुक्तानि हुदैन । यस्तो प्रकारको न्यून मूल्याङ्कन गरी बीमा गर्नु पनि बीमामा हुने ठगी हो ।
बीमालेख खरिद गर्ने बिमितले दाबी प्राप्त गर्न झुटा विवरण उपलब्ध गराउने‚ सूचना लुकाउने जस्ता किर्ते गरेर बीमा ठगी गरेको पाइन्छ । जस्तै क्यान्सर पिडित बिमितले रोग लागेको थाहा पाइसकेपछि दाबी प्राप्त गर्न झुटा विवरण उपलब्ध गराइबीमा गर्ने र ठगी गर्ने । प्राकृतिक विपती हुलदङ्गा आन्दोलन लगायतको अवस्थामा सूचना संयन्त्र‚ राज्यको उपस्थिति कमजोर भएको मौका छोपेर वास्तविकता भन्दा बढी क्षतिपूर्ती दाबी गर्ने प्रवृति नेपाली समाजमा समाजमा यदाकदा देख्न सकिन्छ ।
बीमा सर्भेयर भनेको क्षतिग्रस्त सम्पति तथा दायित्वको मूल्याङ्कन गर्ने इजाजतपत्र प्राप्त बीमा मध्यस्ताकर्ता व्यक्ति वा सस्थालार्इ बुझिन्छ । सर्भेयरले स्वतन्त्र रुपमा क्षति मूल्याङ्कन नगरी निहित स्वार्थ तथा बिमक वा बिमितसँको मिलेमतोमा क्षति मूल्याङ्कनलार्इ प्रभाव पारी बीमा ठगी गर्ने गरेको गुनासो तथा उजुरी सुन्ने गरिन्छ ।
बीमामा हुने ठगीहरु
बीमालेखको बारेमा व्याख्या गर्दा‚ बिमितले आफ्नो बारेमा जानकारी दिदा‚ तेस्रो पक्ष दाबीकर्ताको सेवा प्रदायकबाट कुनै पनि बेला ठगी गरिएको हुन सक्दछ । वास्तविकता भन्दा बढी क्षति देखाएर क्षतिपूर्ती दाबी गर्ने‚ काल्पनिक वा नियोजित घटनाको आधारमा क्षतिपूर्ती दाबी गर्ने प्रवृति धेरैजसो देखा पर्ने गरेको छ । यसरी बीमामा हुने ठगीलार्इ देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
1) दाबी भुक्तानी गर्दा
2) बीमाका सिद्धान्तको पालना नगर्दा हुने ठगी
3) प्रस्ताव फारम भर्दा हुने ठगी
4) सर्भेयर प्रतिवेदन तयार गर्दा हुने ठगी
5) अनैतिक कृयाकलाप ( Moral Hazard) बाट हुने ठगी
1. दाबी भुक्तानीमा हुने ठगी
बीमाका विभिन्न पक्षबाट दाबी प्राप्त गर्न तथा दाबी भुक्तान गर्ने क्रममा विभिन्न प्रकृतिका ठगीहरु हुन सक्छन । जस्तै :
- क्षति मूल्याङ्कनमा बढी क्षति देखाएर हुने ठगी‚
- काल्पनिक वा नियोजित घटनाको आधारमा क्षतिपूर्ति दाबी गरि हुने ठगी‚
- फर्जी प्रमाण पेश गरी हुने ठगी‚
- क्षति मूल्याङ्कनमा प्रभाव पारी हुने ठगी‚
- न्यून दरमा बीमा गरी दाबी भुक्तानी प्रकृयालार्इ नियोजित ढङ्गबाट प्रभावित पारी हुने ठगी ।
2. बीमाका सिद्धान्तको पालना नगर्दा
बीमाका सामान्य सिद्धान्तको पालना नगरी तथा सिद्धान्तको उल्लघन गरी ठगी तथा जालसाजी हुने गर्दछ । जस्तै:
- सूचना लुकाउने तथा गलत सूचना प्रदान गरी परम सदविश्वासको सिद्धान्तको पालना नगरी हुने ठगी‚
- दाबी भुक्तानीलार्इ झन्झटिलो बनाउने मनासयले बीमाका शर्तको अपव्याख्या गरी हुने ठगी‚
- गलत सूचना प्रदान गरी हुने ठगी ।
3. प्रस्ताव फारम भर्दा
बिमितले प्रस्ताव फारम भर्दा हुने ठगी साथै अभिकर्ताले जानकारीलार्इ अनुमानित ढङ्गले उल्लेख गरी ठगी हुन सक्छ । जस्तै:
- स्वास्थ्य बीमा गर्दा वास्तविक जोखिमाङ्कन नगरी हचुवाको भरमा जानकारी उपलब्ध गरार्इ हुने ठगी‚
- गलत तथा झुटा विवरण प्रवाह गरी हुने ठगी‚
- जोखिमाङ्कनमा प्रभाव पारी हुने ठगी ।
4. प्रतिवेदन तयार गर्दा
बीमा सर्भेयरद्धारा क्षति मूल्याङ्कन प्रतिवेदन तयार गर्दा बीमा ठगी तथा जालसाजी हुन सक्छ । जस्तै:
- सर्भेयर र विमकको मिलेलतो भएमा‚
- सर्भेयर र विमितको मिलेलतो भएमा‚
- सर्भेयरको निहित स्वार्थ भएमा ।
5. अनैतिक कृयाकलाप ( Moral Hazard) बाट हुने ठगी
बीमा दाबी प्राप्त गर्न अनैतिक कार्य गरी बीमामा ठगीका कृयाकलाप बढ्दै गएको देखिन्छ । जस्तै:
- बीमा दाबी प्राप्त गर्न व्यक्तिको जीवनलार्इ नै जोखिममा राखि हुने ठगी ‚
- काल्पनिक घटना सृजना गरी हुने ठगी‚
- नियोजीत ढङ्गले घटना घटाइ हुने ठगी ।
बीमामा हुने ठगीका असरहरु
न्यूनतम खर्चमा आफ्नो सम्पति‚ आम्दानी‚ पर्ने दायित्व एंव कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्थापन हो। बीमामा हुने ठगी तथा जालसाजीले बीमाद्धारा वास्तविक जोखिम व्यवस्थापन गर्ने वर्ग तथा प्रकृयालार्इ समेत प्रभाव पारेको छ । यसरी बीमामा हुने ठगीबाट हुने असर तथा प्रभावहरुलार्इ देहाय बमोजिम उल्लेख गरिएको छ ।
1. बीमा व्यवसाय विस्तार गर्न समस्या
2. जनतामा बीमा सम्बन्धमा गलत धारणाको विकास
3. जनमानसमा बीमा सम्बन्धमा नकारात्मक प्रभावको वृद्धि
4. सरोकारवालाको लाभाशंमा न्यूनता
5. बीमाशुल्कमा वृद्धि
6. बीमा दाबी भुक्तानी प्रकृया झन्झटिलो हुने
7. विश्वसनीयताको कमी
1 बीमा व्यवसाय विस्तार गर्न समस्या
बीमामा बढदै गएको बीमा ठगीले सर्वसाधारण जनतामा बीमा सम्बन्धमा नकारात्मक प्रभाव पर्न गर्इ सर्वसाधारणको बीमा प्रति अविस्वास बढन थाल्दछ । जसले गर्दा बीमा व्यवसाय विस्तार गर्न समस्या सृजना हुन्छ ।
2 जनतामा बीमा सम्बन्धमा गलत धारणाको विकास
बीमामा बढदै गएको ठगीले जनमानसमा गलत धारणा विकास हुन्छ । यसले बीमा क्षेत्र र बजार प्रति जनताको नकारात्मक प्रभाव परि यसले समग्र बीमा क्षेत्रलार्इ नै नकारात्मक प्रभाव पार्दछ । बीमा गर्दा न्यून जोखिमाङ्कन गर्ने‚ बीमालेखका शर्तको गलत व्याख्या गर्ने परिपाटिले सर्वसाधारण जनताको बीमा प्रतिको विश्वासमा ह्रास आएको पाउन सकिन्छ । जसले समग्र बीमा क्षेत्रलार्इ नै प्रभाव पारी नेपालको बीमा बजारको विकास र विस्तारमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।
3 जनमानसमा बीमा सम्बन्धमा नकारात्मक प्रभावको वृद्धि
बढदो बीमा ठगीले बीमाले जोखिम रक्षावरण गर्ने नभर्इ जनतामाझ बिमाले ठगी कार्य गर्छ भन्ने धारणा सृजनाभर्इ बीमा सम्बन्धमा जनमानसमा नकारात्मक भावना वृद्धि गर्दछ । बीमामा हुने ठगीले बीमाको वास्तविक अवधारणालार्इ नै प्रभाव पारी जनतामा बीमा प्रति नकारात्मक भावना सृजना गर्दछ ।
4 शेयर धनिको लाभाशंमा न्यूनता
बीमा ठगी वृद्धि हुदै जादा बीमा व्यवसाय खस्कदै जान्छ । जसले गर्दा बीमाका शेयर धनिको लाभाशंमा कमि आउदछ भने यसले लगानि कर्तालार्इ निरुत्साहित बनाउदछ । जसको परिणाम स्वरुप बीमा क्षेत्रको दायरा सागुरिनुका साथै समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्दछ ।
5 बीमाशुल्कमा वृद्धि
बीमामा फर्जी दाबी गर्ने प्रकृया बढदै जाने‚ तथा दाबी भुक्तानी प्राप्त गर्न विभिन्न ठगी कार्य वृद्धि हुदै जादा यसले जोखिमलार्इ वृद्धि गर्दछ । बीमाको सिद्धान्त बमोजिम जति जोखिम वृद्धि हुन्छ त्यति नै बढी मात्रामा बीमा शुल्क बढने हुदा यसले अप्रत्यक्ष रुपमा बीमाशुल्कलार्इ प्रभाव पार्दछ ।जसको परिणाम स्वरुप बीमाशुल्कमा वृद्धि हुन पुग्दछ । त्यस्तै बढदो बीमा ठगीले वास्तविक पिडितलार्इ समेत दाबी प्राप्त गर्न झन्झटिलो हुने गर्दछ ।
6 बीमा दाबी भुक्तानी प्रकृया झन्झटिलो हुने
बीमा दाबी प्राप्त गर्दा हुने ठगी रोक्न बीमा दाबी भुक्तानीप्रकृया जटिल हुने हुँदा झन्झटिलो बनाउदा वास्तविक विमित मर्कामा पर्न सक्ने अवस्था हुन सक्छ जसले गर्दा बीमा प्रति जनविश्वासमा कमि हुन गर्इ बीमा व्यवसायलार्इ यसले नकारात्कम प्रभाव पार्न सक्छ ।
७ विश्वसनीयताको कमी
बीमा भनेको विश्वासमा निर्भर भएको साथै परम सदविश्वासमा व्यवसाय सञ्चालन हुने क्षेत्र हो । बीमा गर्दा तथा बीमा गरिसकेपछि दाबी गर्ने समयमा हुने बिभिन्न अनैतिक क्रियाकलाप‚ झुट्टा जानकारी/ विवरण तथा जालसाजी पूर्ण कार्यले बीमाप्रतिको विश्वसनियतामा कमि ल्याउनका साथै बीमा क्षेत्रको विस्तारमा समेत बाधा पुर्याउदछ । बीमामा हुने ठगी तथा जालसाजीले सर्वसाधारण जनतामा बीमा प्रतिको विश्वासमा कमि ल्याउदछ ।
बीमामा हुने ठगी समाधानका उपाय
बीमामा हुने विभिन्न ठगी तथा जालसाजीबाट बच्ने तथा ठगीन्यूनिकरण गर्ने उपायको खोजि गर्नुपर्दछ । यसरी बीमामा हुने ठगी समाधान गर्ने उपायहरुलार्इ देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
1. बीमा सम्बधमा जनचेतना अभिवृद्धि गर्न जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने‚
2. बीमादर सम्बन्धमा जोखिमाङ्कन कार्यलार्इ प्रभावकारी बनाइ कार्यान्वयनलार्इ जोड दिने‚
3. बीमा शिक्षालार्इ विद्यालय स्तरमा नै अनिवार्य गर्ने‚
4. बीमा साक्षरता वृद्धि गर्न स्थानीय स्तरमा अन्तरकृया कार्यक्रमलार्इ प्रभावकारी सन्चालन गरी कार्य योजना समावेश गर्ने‚
5. ठगीमा संलग्न बिमितलार्इ समेत उत्तरदायि र जिम्मेवार बनाइ दण्डको दायरामा ल्याउने‚
6. दक्ष जनशक्तिको उत्पादन गर्न लगानी वृद्बि गरी सहज वातावरण सृजना गर्ने‚
7. बीमाशुल्क कायम गर्दा तथा बीमा गर्दा जोखिमाङ्कनलार्इ प्रभावकारी बनाउने‚
8. भ्रामक विक्री रोक्न बीमा अभिकर्तालार्इ तालिम सन्चालन गरी जनचेतना वृद्बि गर्ने‚
9. बीमा प्राधिकरणको भूमिकालार्इ प्रभावकारि बनाउने‚
10. बीमा प्रधिकरणद्बारा बीमा बजार सुपरीवेक्षण कार्यलार्इ थप व्यवस्थित र प्रभावकारी बनाउने ।
बीमामा हुने ठगीका चुनौतीहरु
बीमा ठगी पत्ता लगाउन
बीमा गर्ने क्रममा संलग्न विभिन्न पक्ष मध्ये कुन पक्षद्धारा ठगी भएको हो भनि पत्ता लगाउनु चुनौति पूर्ण कार्य हो । उदाहरणको लागि प्रस्ताव फाराम भर्दा हुने ठगि अभिकर्ताको गलत कार्यले भएको हो वा बिमितको अज्ञानताले गर्दा जानकारीमा परिबर्तन गरेको हो पत्ता लगाउन कठिनाइ सिर्जना हुन्छ ।
ठगी भएको प्रमाणित गर्न
नेपालको बीमा बजारको अवस्था हेर्दा बीमा चेतनाको कमि साथै जीवन बीमामा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने हुदा ठगी भएको प्रमाणित गर्नु चुनौतिपूर्ण कार्य हो ।
नेपालको बीमा क्षेत्रमा भएका चुनौतीहरु
मुलुकको वितीय प्रणालीको महत्वपूर्ण स्तम्भका रुपमा रहेको बीमा बनाउन बीमा प्रधिकरणको मुख्य कार्य हो । नेपालमा बीमा क्षेत्रको इतिहास लामो भएतापनि बीमा क्षेत्र भर्खर वामे सर्दै छ ।चुनौतिलार्इ व्यवस्थापनका कच्चा पदार्थ हुन भन्ने गरिन्छ । सोहि चुनौतिका आधारमा भविष्यको बाटो तय गर्नुपर्ने हुन्छ । गहन चिन्तन र विश्ल्षणले मात्र असहज अवस्थामा अगाडी बढन तथा समस्यालार्इ सहि ढङ्गले बुझन सकिन्छ । विकास हुने क्रममा रहेको बीमा क्षेत्रमा देखिएका चुनौतिहरुलार्इ देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
1) बीमामा हुने ठगी तथा जालसाजी न्यूनीकरण गर्नु‚
2) बीमाको भ्रामक बिक्रीलार्इ नियन्त्रण गर्नु‚
3) बीमालार्इ बिमितको आवश्यकताको रुपमा विकास गर्नु‚
4) बीमा साक्षरता वृद्धि गर्नु‚
5) बीमा दाबी प्रकृयालार्इ सहज र निष्पक्ष बनाउनु‚
6) जनताको बीमा प्रतिको धारणा सकारात्मक बनाउनु‚
7) पन्धौ योजनाको लक्ष्य बमोजिम आ.व. २०८०/८१ सम्ममा बीमाको दायरामा आएको जनसङ्ख्या ६० प्रतिशत पुर्याउने‚
8) पन्धौ योजनाको लक्ष्य बमोजिम आ.व. २०८०/८१ सम्ममा कृषि बीमाको पहुँचलार्इ १० प्रतिशत पुर्याउने‚
9) कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान अभिवृद्धि गर्ने‚
10) बीमा बजारलार्इ पारदर्शी‚ जवाफदेही ‚जिम्मेवार र उत्तरदायी बनाउने‚
11) बीमा बजारमा स्वास्थ्य प्रतिस्पर्धा कायम गर्ने‚
12) लघु बीमालार्इ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने।
नेपालको बीमा बजारका सकारात्मक पक्षहरु
नेपालको बीमा बजारमा बिभिन्न चुनौतीहरु रहेतापनि बीमा क्षेत्रमा अवसरहरु पनि रहेका छन । नेपालको बीमा बजारमा रहेका सकारात्मक पक्षहरु देहाय बमोजिम रहेका छन ।
1) बीमामा हुने ठगी रोक्न बीमामा दण्ड सजायको दायरालार्इ ऐनद्बारा नै फराकिलो बनाइ स्पष्ट गरिएको‚
2) भ्रामक बिक्रीलार्इ नियन्त्रण गर्न बीमा प्राधिकरणद्बारा नै अभिकर्ता तालिम कार्यक्रम सन्चालन गरी स्थलगत अनुगमनलाइ प्रभावकारी रुपमा सन्चालन गरिएको‚
3) बीमा अभिकर्तालार्इ थप जिम्मेवार बनाउन ऐनमा नै नवीकरण नगर्ने‚ खारेजी गर्ने साथै दण्ड सजायको व्यवस्था गरिएको‚
4) बीमा दाबी भुक्तानी वृद्बि हुदै गएको‚
5) बीमाको दायरामा रहेको जनसङ्ख्यामा उल्लेखनीय वृद्बि हुनु‚
6) बीमा प्राधिकरणद्बारा प्रदेश शाखा सन्चालनमा ल्याइएको‚
7) ७७ वटा जिल्लामा नै बीमा पँहुच पुग्नु‚
8) बीमा शुल्कमा वृद्बि हुनु‚
9) बीमाको दायरामा रहेको जनसङख्या वृद्बि हुनु‚
10) सरकारद्बारा बीमा कार्यक्रमलार्इ प्रोत्साहन तथा कृषि बीमालार्इ अनुदानको व्यवस्था गरिएको‚
11) आ.व. २०७९/८० को बजेटमा खेलाडीको बीमा सम्बन्धी व्यवस्था गरिएको‚
12) जोखिममा आधारित बीमा सन्चालन गर्न प्राधिकरणले तयारी गरेको‚
13) गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको व्यवस्था गरिएको‚
14) लघु बीमालार्इ प्रोत्साहन गर्न लघु बीमा कम्पनीलार्इ सन्चालन इजाजतपत्र प्रदान गरिएको‚
15) बीमा बजारमा स्वास्थ्य प्रतिस्पर्धा रहेको‚
16) सबै बीमा कम्पनीहरु नाफामा सन्चालित रहेका ।
निशकर्ष:
बीमा करार गर्दा राखिएका शर्तहरु व्याख्या गर्दा‚ पालना गर्दा तथा कार्यान्वयनमा ल्याउदा बीमामा ठगीहरु हुन सक्दछन । बीमामा हुने ठगीले समग्र बीमा व्यवसायलार्इ नै प्रभाव पार्दछ । बीमामा हुने ठगी नियन्त्रण गर्न बीमा क्षेत्रका सम्पूर्ण पक्षहरु‚ बीमा प्राधिकरण‚ बीमा कम्पनी‚बिमित‚ बीमा अभिकर्ता सबैको महत्वपूर्ण भूमिका रहन्छ ।ठगीका घटना हरेक प्रकारका व्यवसायमा देखिन्छन‚त्यसलार्इ समाधान गर्ने प्रमुख दायित्व सरकारको हो । त्यस्तै बीमा क्षेत्र पनि ठगी कार्यबाट अछुतो रहेको पाइदैन । यसर्थ बीमामा हुने ठगी निराकरण गर्ने मुख्य जिम्मेवारी नेपाल बीमा प्राधिकरण र बीमा क्षेत्रका सरोकारवाला सबैको हो । सरोकारवाला सबैको सहकार्य र समन्वयन मार्फत बीमामा हुने ठगीलार्इ नियन्त्रण गर्न सकिन्छ ।
सन्दर्भ सामाग्रीहरु
- बीमा प्राधिकरणको बार्षिक प्रतिवेदनका विभिन्न अकंहरु
- बीमा समाचार र विचारका विभिन्न अकंहरु
- बीमा चिनारी
- बीमा ऐन‚ २०७९
लेखक कविता पाण्डेय
सहायक निर्देशक
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय ·








