स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता
Ecoecopolitics Desk५ महिना अगाडि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र जेन–जी प्रतिनिधिहरूबीच नेपालको स्वास्थ्य क्षेत्र सुधारका विषयमा आइतबार मन्त्रालयमा विशेष छलफल भएको छ।
छलफलमा नेपालका स्वास्थ्य सेवामा देखिएका वर्तमान चुनौतीहरू, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता तथा भविष्यका सुधार योजनाबारे विस्तृत कुराकानी भएको थियो।
जेन–जीका प्रतिनिधिहरूले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र जटिलताप्रति मन्त्री गौतमको ध्यानाकर्षण गराउँदै बीमाको दायरा विस्तार र प्रणालीगत सुधारका लागि पहल गर्न आग्रह गरेका थिए।
उनीहरूले देशभरका नागरिकलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन बीमा प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव समेत दिएका थिए।
छलफलमा उठेका विषयमा प्रतिक्रिया जनाउँदै मन्त्री गौतमले स्वास्थ्य बीमामा देखिएका कमजोरीहरू समाधान गर्दै यसलाई थप परिणाममुखी र प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
उनले स्वास्थ्य सेवा सुधारलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सरोकारवालासँगको सहकार्यमार्फत दीगो सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पारिन्।








