दुर्गा प्रसाई : मलाई रोक्ने दुष्प्रयास भारतले होइन नेपाल सरकारले गर्‍यो

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of दुर्गा प्रसाई : मलाई रोक्ने दुष्प्रयास भारतले होइन नेपाल सरकारले गर्‍यो

व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले “महेन्द्र राजाको गाउँ फर्क अभियान” नामक नयाँ अभियान घोषणा गर्दै सबै नेपालीहरूलाई स्वदेश फर्कने आह्वान गरेका छन्। उनले भनेका छन्, अब विदेश होइन, आफ्नै गाउँ र देश फर्कने बेला आएको छ।

 

प्रसाईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सन्देशमा लेखेका छन् —

 

“अब समय आइसकेको छ — विखण्डित परिवारहरू पुनः एक हुने बेला आएको छ। हामीले धेरै गुमायौं — प्रेम, परिवार, माटो र आत्मसम्मान। अब आवश्यक छ नयाँ अभियान ‘महेन्द्र राजाको गाउँ फर्क अभियान’, हाम्रो स्वदेश फर्क अभियान, जहाँ हरेक छोराछोरी आफ्नै जन्मभूमितिर फर्किनेछन्, जहाँ बुबा–आमाको आँखामा फेरि उज्यालो आउँछ, जहाँ माटोले आफ्ना सन्तानलाई अँगालो मार्छ।”

 

उनले थप भनेका छन् —

 

“अब विदेश होइन, अब आफ्नै गाउँ, आफ्नै देश, आफ्नै आँगन! हामी फर्कौं, आफ्नै पहिचान र गौरव फर्काउन!”

 

प्रसाईले आगामी मंसिर ७ गते सबैलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

उनले ह्यासट्यागहरू प्रयोग गरेका छन् —

#गाउँ_फर्कौं #महेन्द्रराजाको_अभियान #आफ्नो_माटो #नेपाल_माया #देशप्रेम

“मलाई रोक्ने दुष्प्रयास नेपाल सरकारले गर्‍यो” — प्रसाईको आरोप

 

स्वदेश फर्कने क्रममा भारत सरकारले होइन, नेपाल सरकारले नै आफूलाई रोक्ने प्रयास गरेको दुर्गा प्रसाईले दाबी गरेका छन्।

उनले भनेका छन् —

 

“मलाई स्वदेश फर्कने क्रममा भारत सरकारले रोकेको होइन, नेपाल सरकारले रोक्न खोजेर आफ्नो ‘बहादुरी’ देखाएको हो।”

 

प्रसाईका अनुसार भ्रष्टाचार र तस्करीका नाइकेहरूविरुद्ध कुनै कारबाही गर्न नसक्ने सरकारले देश र धर्मका पक्षमा बोल्ने आफूलाई मात्र निशाना बनाएको छ।

 

उनले भने —

 

“भ्रष्टाचार र तस्करीका नाइके शेरबहादुर देउवा र आरजु देउवाको पासपोर्ट रोक्का हुँदा पनि उनीहरूलाई विदेश जानबाट रोक्न नसक्ने सरकारले मलाई भने एयरपोर्टमै रोक्ने दुष्प्रयास गर्‍यो। यही हो सरकार तिम्रो ‘बहादुरी’? जसको सामर्थ जति छ, उसले देखाउने त्यति नै हो।”

 

प्रसाईले अन्त्यमा सरकारलाई चेतावनी दिँदै भने —

 

“सम्झ, अझै गर्न बाँकी केही भए मंसिर–७ अघि नै पूरा गर। अन्यथा त्यसपछिका अधुरा काम अधुरै रहन सक्ने छन्, किनभने दमनको मात्र नभएर सहनको पनि शक्ति र सीमा हुन्छ।”


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com