नेपाल राष्ट्र बैंककै नीतिले लगानी संकट बढ्यो : एफएनसीसीआई अध्यक्ष ढकाल

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of नेपाल राष्ट्र बैंककै नीतिले लगानी संकट बढ्यो : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं, कार्तिक २४ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय क्षेत्रमा उत्पन्न लगानी संकटका लागि नेपाल राष्ट्र बैंक नै जिम्मेवार रहेको बताएका छन्।

 

शनिबार राजधानीमा आयोजित ‘बृहत् राष्ट्रिय आर्थिक बहस ०.२’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले कोभिड–१९ पछि अर्थतन्त्रले पुनः गति लिन थालेको बेला नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन ले निजी व्यवसायिक क्षेत्र समस्यामा परेको आरोप लगाए।

 

उनका अनुसार बैंकहरूमा अहिले करिब ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भए पनि, लगानीमा आकर्षण नहुनुमा चालु पुँजी कर्जा मार्गदर्शन, सूक्ष्म निगरानी र कालोसूचीको कठोर प्रणाली कारण बनेको हो।

 

ढकालले भने, “चालु पुँजी कर्जा सम्बन्धी निर्णय बैंक र ऋणीबीचको आपसी छलफलबाट गर्न दिने व्यवस्था उपयुक्त हुन्छ। कर्जा वर्गीकरण, सूक्ष्म निगरानी र कालोसूची सम्बन्धी प्रावधानमा तत्काल सुधार आवश्यक छ।”

 

अध्यक्ष ढकालले पछिल्लो समय भएको ‘जेन–जी आन्दोलन’ ले निजी व्यवसायिक क्षेत्रमा ठूलो नोक्सान पुर्‍याएको बताउँदै त्यसबाट उठ्न सरकार र निजी क्षेत्र एकै ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याए।

उनका शब्दमा, “आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड भयो, खर्बौंको क्षति भयो। यसबाट बाहिर निस्कन सबै पक्षले सकारात्मक पहल गर्नुपर्छ। महासंघ पनि व्यवसायिक हितका लागि आर्थिक प्याकेज तयार गर्दैछ।”

 

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री डा. रामेश्वर खनाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

अध्यक्ष ढकालले सरकारले शीघ्र आर्थिक प्याकेज र उत्थान योजना ल्याउन माग गर्दै सीमाक्षेत्रमा बढ्दो अवैध आयात र गैरभन्सार व्यापार नियन्त्रणका लागि भारतसँग संयुक्त पहल गर्न पनि आग्रह गरे।

उनले भने, “भारतसँग गैरभन्सार अवरोध, आइरन रडमा भन्सार दरको समस्या र भारतीय स्ट्यान्डर्ड प्रमाणपत्र पाउनको कठिनाइ व्यवसायीका साझा चासो हुन्। आशा छ, कार्की नेतृत्वको सरकारले यी विषयमा सकारात्मक पहल गर्नेछ।”


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com