मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत
EcoEcoPolitics२ हप्ता अगाडि
जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनार) को राजीनामा स्वीकृत भएको छ। शनिबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन्।
सोनलले प्रदेशसभामा विश्वासको मत नपाउने अवस्था बनेपछि सदनमै राजीनामा घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुख सुवेदीसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल गत असोज २९ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनीसँग सुरुवाती चरणमा लोसपा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी गरी पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी गरिएको थियो।
तर शनिबारको विश्वासको मत प्रक्रियामा उनले आवश्यक ५४ मत जुटाउन सकेनन्। प्रदेशसभामा कुल १०७ जना सदस्य छन्।
सोनल सरकारलाई समर्थन गर्ने भनिएका केही सांसदहरू बैठकमा अनुपस्थित रहे। निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र सांसद त्रिभुवन शाह प्रदेशसभा बैठकमा उपस्थित भएनन्। त्यसैगरी संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी पनि अनुपस्थित रहिन्।
माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला राईले भने सदनमै विद्रोह गरेका थिए। अन्सारीले आफ्नो अनुहारमा कालो मोसो दलेर विरोध प्रदर्शनसमेत गरे।
राजनीतिक अस्थिरता र आन्तरिक मतभेदबीच सोनलको सरकार गठन भएको एक महिना नपुग्दै पतन भएको हो। अब संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।








