नर्सहरूको आन्दोलन फिर्ता, न्यूनतम पारिश्रमिक रू. ३४ हजार ७३० निर्धारण
Ecoecopolitics Desk४ महिना अगाडि
काठमाडौं, कात्तिक १६ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नर्सिङ पक्षबीच भएको वार्तामा सहमति जुटेपछि नर्सहरूको आन्दोलन फिर्ता लिइएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आइतबारदेखि नर्सहरूको आन्दोलनका सबै कार्यक्रम स्थगितहुने भएका छन्।सहमति अनुसार निजी मेडिकल कलेज र ठूला निजी अस्पतालहरूले कात्तिक महिनादेखि सरकारी पाँचौं तहको न्यूनतम पारिश्रमिक रू. ३४ हजार ७३० प्रदान गर्ने भएका छन्। त्यस्तै, अन्य निजी अस्पतालहरूले हालका लागि आफ्नो क्षमताअनुसार ८० प्रतिशत तलब दिने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गरी सरकारी सरह पूर्ण तलब दिनुपर्ने सहमति भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीले भने, “कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ।”
वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम, सचिव डा. विकास देवकोटा, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ सङ्घका प्रतिनिधि तथा निजी मेडिकल कलेजका पदाधिकारीहरू सहभागी थिए।








