काठमाडौंमा अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम:

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of काठमाडौंमा अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम:

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले राजधानी क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण र मापदण्डविपरीत बनेका संरचना हटाउन सात दिनको समयसीमा तोकेका छन्।

 

दुई संस्थाको २ असोजमा बसेको संयुक्त बैठकले सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थित सहर विकासका लागि तत्काल कदम चाल्ने निर्णय गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो।

 

सूचनाअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ अनुसार सार्वजनिक स्थल, सडक, पार्क, खोलानाला र सार्वजनिक उपयोगका जग्गामा भवनजन्य संरचना निर्माण गर्न पाइँदैन। साथै, सोही ऐनको दफा ९७ ले स्थानीय तहलाई सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ।

 

त्यसैले, काठमाडौं महानगर र केभीडीएको संयुक्त सूचनामा तोकिएको समयभित्र अतिक्रमण वा मापदण्डविपरीत बनेका संरचना स्वेच्छाले हटाउन आग्रह गरिएको छ। समयसीमा उल्लंघन भएमा कानूनी प्रक्रिया अनुसार बलपूर्वक हटाइने चेतावनी दिइएको छ।

 

महानगरले सर्वसाधारण नागरिकलाई पनि सहयोगका लागि आह्वान गर्दै, सार्वजनिक जग्गा वा सम्पत्तिमा भएको कुनै पनि अतिक्रमणबारे जानकारी भएमा तुरुन्त सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गरेको छ।

 

सार्वजनिक सम्पत्तिको संरक्षण, सहरको सौन्दर्य र सडक व्यवस्थापनलाई प्राथमिकता दिँदै, आगामी सात दिन राजधानीका विभिन्न क्षेत्रहरूमा अतिक्रमण हटाउने अभियान चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

 


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com