सरकारले ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय
Ecoecopolitics Desk५ महिना अगाडि
काठमाडौँ । सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी सञ्चारमन्त्री जगदीश खरेलले दिएका हुन्।
निर्णयअनुसार ताप्लेजुङको श्रीचंघा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिनेछ।
गृह मन्त्रालय अन्तर्गतको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्दै मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो। नयाँ इलाका प्रशासन कार्यालय स्थापना भएसँगै दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा सहज र प्रभावकारी हुने सरकारको अपेक्षा छ।
सरकारका अनुसार स्थानीय स्तरमै नागरिकता, राहदानी सिफारिस, शान्ति–सुरक्षा तथा अन्य प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले इलाका प्रशासन कार्यालय थप गरिएको हो।








