एमालेमा युवाको पदाधिकारीमा दाबी को को छन आकाङ्क्षीहरू

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of एमालेमा युवाको पदाधिकारीमा दाबी को को छन आकाङ्क्षीहरू

महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघका नेताहरू पार्टीको केन्द्रीय जिम्मेवारीतर्फ प्रवेश गर्न सक्रिय भएका छन्। केन्द्रदेखि सबै प्रदेशमा बलिया संरचना बनाएका यी संगठनका नेता–कार्यकर्ताले उमेर हदबन्दी र दीर्घ राजनीतिक यात्राका कारण अब पार्टीमै भूमिकाको अपेक्षा राख्दै दौडधुप तीव्र बनाएका हुन्।

प्रतिनिधि छनोट सकिएपछि मनोनीत कोटामा पर्ने आशा राखेका नेताहरू पनि आन्तरिक तयारीमा जुटेका छन्। अखिल र युवा संघका दर्जनौँ पूर्व पदाधिकारीले यसपटक केन्द्रीय कमिटीमा प्रवेश गर्ने दाबी अघि सारेका छन्।

 

 हालसम्मका सबै अध्यक्ष केन्द्रीय सदस्य बनेका इतिहास दोहोरिन सक्ने संकेत देखिएको छ। निवर्तमान अध्यक्ष समिक बडाल, ४० वर्ष कटेकाले खुला वा भूगोल क्लस्टरबाट केन्द्रीय सदस्य बन्ने तयारीमा छन्।त्यस्तै, पूर्वमहासचिव नरेश रोकाय बाजुराबाट निर्वाचित प्रतिनिधि बनेपछि दाबेदार बनेका छन्। बडाल कमिटीका उपाध्यक्ष– गोंविन्द गिरी, धर्म गिरी, नारायण घर्ति पनि आफ्नो दाबी प्रस्तुत गर्दै छन्।

गत महाधिवेशनमा ७ मतले अध्यक्ष हारेका चर्चित नेता प्रकाश पौडेल म्याग्दीबाट निर्विरोध प्रतिनिधि बनेका छन् र केन्द्रीय सदस्यका बलिया दाबेदार मानिन्छन्।

नविना लामा र ऐन महर कार्यकालका उपाध्यक्षमध्ये रश्मी आचार्य यसपटक गण्डकीबाट केन्द्रीय कमिटीमा प्रवेश गर्ने तयारीमा छन्। पूर्व वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, अखिल अनुशासन आयोगकी पूर्वअध्यक्ष मेनका पछाई समेत डेब्युको तयारीमा छन्।

यस्तै पूर्व पदाधिकारी रामप्रसाद न्यौपाने, निशा अधिकारी, राधिका खतिवडा, कल्पना वाइबा, सुदर्शन शिवाकोटी, सञ्जिव धिताल, विनिता काफ्ले पनि सम्भावित दाबेदारको सूचीमा छन्।

अछामका मोति विक, रुपन्देहीका बालकृष्ण पाण्डे, रुकुमपूर्वका अध्यक्ष बनेर आएका लीलामणि गौतम पनि युवातरफबाट प्रतिनिधित्व गर्दै पार्टी नेतृत्वमा उक्लिने मनस्थितिमा छन्।

जेन–जी आन्दोलनपछि अध्यक्षबाट बिदा लिएका डा. सुजन कडेरिया पनि मनोनीत प्रतिनिधि भएर सक्रिय राजनीतिमा फर्कने तयारीमा छन्।

 संघमा भने अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत उम्मेदवार बनाउने आन्तरिक समझदारी भए पनि, केन्द्रीय जिम्मेवारीका लागि अन्य उपाध्यक्ष–नेताहरू पनि उत्साहित देखिएका छन्।

थेबे अघि बढेपछि उपाध्यक्ष महाराज गुरुङले संघको नेतृत्व सम्हाल्ने भद्र समझदारी पुरानै हो। अर्को उपाध्यक्ष विनय शाह पनि संगठनमै रहने रुचि व्यक्त गर्दै छन्।

पूर्वअध्यक्ष उम्मेदवार सुमन पुरी प्रतिनिधि बन्न सफल भए पनि रुपन्देहीमा पराजित भएपछि यसपटक पछि परेका छन्। पुरी समूहका धेरैजना प्रतिनिधि छनोटमै फालिएका छन् भने थेबे नजिकका धेरै प्रतिनिधि बनेका छन्।

त्यस्तै, युवा संघका पूर्वउपाध्यक्ष र अहिले एमालेभित्र सक्रिय राजु गुरुङ, अध्यक्ष क्षितिज थेबे, पूर्वअध्यक्ष बचनबहादुर सिंह, पूर्वउपाध्यक्ष अमित लामा, क्रान्ति बुर्लाकोटी पनि पहिलोपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन्।

 

प्रदेश–स्थानीय तहबाट आएका युवा दाबेदार
पूर्व सांसद सुहाङ नेम्वाङ केन्द्रीय सदस्यका प्रबल दाबेदार मानिन्छन्। काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल पनि संभावित युवा प्रतिनिधिको रूपमा चर्चामा छन्, यद्यपि उनी प्रतिनिधि छनोटमा सहभागी भएकी छैनन्—मनोनीत सूचीमा राखिएको बताइन्छ।

गण्डकी प्रदेशका नवराज ओझा, कास्कीमा दुई कार्यकाल पालिका प्रमुख भएर काम गरेका, पनि दाबेदार हुन्। प्रगतिशील इन्जिनियर्स एसोसियसनका महासचिव राजन थापा पनि ४० वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्य बन्न चाहने हतारमा छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com