समानुपातिकतर्फ आवेदन आजदेखि, आयोगले सम्पूर्ण प्रक्रिया अगाडि बढायो

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of समानुपातिकतर्फ आवेदन आजदेखि, आयोगले सम्पूर्ण प्रक्रिया अगाडि बढायो

प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ८८ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले तयारीको गतिमा थप तीव्रता दिएको छ। आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुने कार्यक्रमसहित आयोगले आवश्यक समयसीमा क्रमशः सार्वजनिक गर्दै आएको छ।

आयोगका अनुसार समानुपातिक (PR) प्रणालीतर्फका प्रक्रिया आजबाट औपचारिक रूपमा शुरु भएको छ। आज बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि आवेदन दर्ता गर्न पाउनेछन्। प्राप्त आवेदनको प्रारम्भिक सूची २४ मंसिरमा प्रकाशित गरिने छ।

समानुपातिक तर्फ उम्मेदवार मनोनयनका लागि दलहरूले १३ र १४ पुसमा आफ्ना बन्दसूची (closed list) पेश गर्नुपर्नेछ। आयोगले बन्दसूचीको पुनरावलोकनपछि ३० माघमा अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने छन्।

प्रत्यक्षतर्फ (FPTP) का लागि पनि निर्वाचन कार्यक्रम स्पष्ट पारिएको छ। ६ माघमा उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुने र सोही दिन प्रारम्भिक नामावली प्रकाशन हुनेछ। मनोनयनमाथि आपत्ति दर्ता गर्ने समय ७ माघ तोकिएको छ भने, ८ माघमा नामावली सार्वजनिक हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउने अन्तिम मिति ९ माघ तोकिएको छ। सोही दिन अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा जुटिरहेका छन्। आयोगले भने निर्वाचन व्यवस्था सुचारु र व्यवस्थित बनाउन आवश्यक सबै तयारी अगाडि बढाएको जनाएको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com