रासायनिक मलको दुरुपयोगले माटोको उर्वराशक्ति झनै घट्यो

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of रासायनिक मलको दुरुपयोगले माटोको उर्वराशक्ति झनै घट्यो

काठमाडौँ । नेपालमा खेतीयोग्य माटोको गुणस्तर लगातार खस्कँदै गएको कृषि विभागको डिजिटल माटो नक्साले देखाएको छ। जाँच गरिएको कुल माटोमध्ये ५४ प्रतिशत अम्लीय प्रकृतिको पाइएको छ, जसमा गत वर्षको तुलनामा १ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ। यस्तै २९ प्रतिशत माटो तटस्थ र १७ प्रतिशत क्षारीय प्रकारका रहेका छन्। विशेषगरी पूर्वी नेपालमा अम्लीयपनाको स्तर पश्चिमको तुलनामा बढी देखिएको छ, जसले बाली उत्पादनमा नकारात्मक असर पारिरहेको छ।

उर्वराशक्तिका दृष्टिले प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा तराई क्षेत्रमा निकै कमजोर देखिएको छ। अन्न भण्डार मानिने तराईमै पोषक तत्त्वको कमी देखिनु चिन्ताजनक रहेको विभागको भनाइ छ। सूक्ष्म पोषक तत्त्व विश्लेषणमा पूर्वी नेपालमा बोरोनको कमी उल्लेखनीय देखिएको छ भने तराई क्षेत्रमा सल्फरको कमी प्रमुख समस्या बनेको छ।

माटो बिग्रनुका कारणमा रासायनिक मलको असन्तुलित प्रयोग, गोबर तथा कम्पोस्ट जस्ता प्राङ्गारिक मलको न्यूनता, अत्यधिक कीटनाशक प्रयोग, बाली अवशेष जलाउने प्रवृत्ति, भूक्षय तथा औद्योगिक प्रदूषण प्रमुख कारक रहेको विभागले बताएको छ। विभागका अनुसार हरेक वर्ष करिब १.७ मिलिमिटर सतही मलिलो माटो भू–क्षयका कारण बगेर हराइरहेको तथ्य अझ गम्भीर चुनौतीका रूपमा देखा परेको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com