कार्यकारी राष्ट्रपति, सैनिक तालिम अनिवार्यसहित श्रम संस्कृति पार्टीको एजेन्डा सार्वजनिक

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of कार्यकारी राष्ट्रपति, सैनिक तालिम अनिवार्यसहित श्रम संस्कृति पार्टीको एजेन्डा सार्वजनिक

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो प्रारम्भिक घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले नेपालका राजनीतिक, शैक्षिक, प्रशासनिक र आर्थिक संरचनामा आमूल परिवर्तन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ। पार्टी अध्यक्ष साम्पाङले श्रम, उत्पादन र अनुशासनलाई राजनीतिक संस्कृतिको केन्द्रमा राख्दै परम्परागत पार्टीहरूको विकल्पमा नयाँ राजनीतिक धारको सुरुवात गर्ने बताए।

श्रम संस्कृति पार्टीको घोषणापत्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति व्यवस्था, राष्ट्रपतिमा समावेशी सिद्धान्तअनुसार फरक लिङ्ग र जातिको अनिवार्य सहभागिता, सांसदले मन्त्री बन्न नपाउने व्यवस्था जस्ता संरचनागत रूपान्तरणका कठोर प्रस्ताव अघि सारेको छ। शिक्षा नीतिमा पनि पार्टीले हप्तामा ३ दिन मात्र सैद्धान्तिक पढाइ, ४ दिन श्रम, उत्पादन तथा सिर्जनामा लगाउने, १२ कक्षासम्म खाना पकाउने र लुगा सिउने सीप अनिवार्य गराउने, १२ पछि सैनिक तालिम अनिवार्य बनाउनेजस्ता व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। साथै विदेशी नागरिकसँग विवाह गरेर आउनेले नागरिकता पाउन ५ वर्ष नेपाल बस्नुपर्ने, आईएनजीओ खारेज, सीमा सुरक्षामा सेना खटाउने र वैज्ञानिक कर प्रणाली लागू गर्ने जस्ता कडा नीतिहरू समेटिएको छ।

घोषणापत्रमा ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त घोषित गर्दै श्रम, प्रकृति र प्रविधिको सन्तुलित विकासले मात्र राष्ट्रको समृद्धि सम्भव हुने दाबी गरिएको छ। ‘एक गाउँ एक उद्योग’, ‘एक घर एक स्वरोजगार’, श्रमदानलाई अनिवार्य राष्ट्रीय अभियान बनाउने, सरकारी सेवा क्षेत्रमा गल्ती गर्ने कर्मचारीलाई जागिरमै बर्खास्त गर्ने, पत्रकारिता र न्यायालयलाई गैरराजनीतिक बनाउनेजस्ता एजेन्डाहरू पार्टीले अघि सारेको छ। मेयर साम्पाङले यो घोषणापत्रमार्फत आफू राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाउन खोजिरहेको स्पष्ट संकेत दिएका छन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com