सर्वसम्मति नभएसम्म बैठक सार्दै जान्छ — कार्यवाहक सभापति खड्का
Ecoecopolitics Desk७ महिना अगाडि
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बैठक सर्वसम्मत वातावरण नबनेसम्म निरन्तर सारिरहने बताएका छन्। बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वक्तव्य जारी गर्दै खड्काले सर्वसम्मत निर्णयका लागि समय आवश्यक भएकाले बैठक स्थगित गर्न बाध्य भएको स्पष्ट गरेका हुन्।
खड्काले वक्तव्यमा भनेका छन्, “माफ पाऊँ सबैसँग बैठक सारेकोमा, गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नुहुन्छ।जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु, म कार्यबाहक रहेसम्म।”
यसअघिको निर्णयअनुसार शुक्रबार दिउँसो बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबारका लागि सारिएको कांग्रेसले जनाएको छ।
पार्टीभित्र बढ्दो मतभेदका कारण सर्वसम्मत निष्कर्ष निकाल्न चुनौती बढेको बेला कार्यवाहक सभापति खड्काको यस्तो अभिव्यक्ति आएको हो।








