ओलीको ‘युवा दस्ता’ शक्ति प्रदर्शन चुनाव भाँड्ने संकेत : : प्रभु साह
EcoEcoPolitics१८ घण्टा अगाडि
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई नियन्त्रित अस्थिरताको दिशामा धकेलेको आरोप लगाएका छन्। हिजो सिन्धुपाल्चोकको चौतारास्थित अरनिको रिसोर्टमा आजपा जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको मर्म र भावना अपहरण भएको दाबी गरे। साहका अनुसार आन्दोलनकारी युवामाथि मुद्दा चलिरहेको बेला गोली चलाउने अपराधीहरू खुलमुक्त हुँदा गृहमन्त्री र सरकार पूर्ण रूपमा लाचार देखिएका छन्।
उनले जेन–जी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अहिलेसम्म सरकारले बयानसमेत नलिनु गम्भीर कमजोरी भएको उल्लेख गर्दै शान्ति–सुरक्षा सुधार नगरेसम्म चुनाव सम्भव नहुने चेतावनी दिए। साहले कुलमान घिसिङले निर्दलीय सरकारमै बसेर दल खोलेको कदम अवसरवादी भएको टिप्पणी गर्दै सरकारभित्रका मन्त्रीहरूको व्यक्तिगत महत्वकांक्षाले २१ फागुनको निर्वाचनबारे सरकार स्वयं गम्भीर नभएको आरोप लगाए। गृहमन्त्री अर्याललाई लुटिएका हतियार, फरार कैदी नियन्त्रण र सुरक्षा सुदृढतामा तत्काल प्रभावकारी कदम चाल्न पनि उनले आग्रह गरे।
साहले एमाले अध्यक्ष ओलीमाथि कडा प्रहार गर्दै सत्ताबाट हटेपछि अब पार्टीबाट समेत हटाइने भयले ओली ‘तमाशा’मा उत्रिएको टिप्पणी गरे। उनका अनुसार ओलीले जेन–जी आन्दोलनमा गरेको दमन ढाकछोप गर्न युवादस्ता बनाएर शक्ति प्रदर्शन सुरु गरेको र पार्टी पंक्तिलाई चुनाव भाँड्न प्रयोग गरिरहेको देखिन थालेको बताए। उनले देशभक्त एमाले कार्यकर्ताले अब हस्तक्षेपकारी गतिविधिको प्रतिवाद गर्दै चुनाव सफल बनाउन भूमिका खेल्नुपर्ने समय आएको पनि उल्लेख गरे।








