इटहरीमा तीनदिने राष्ट्रिय युवा जलवायु सम्मेलनसहित विद्यार्थी लक्षित सचेतना कार्यक्रम
EcoEcoPoliticsएक दिन अगाडि
इटहरीमा तीनदिने राष्ट्रिय युवा जलवायु सम्मेलन सुरु भएको छ। जलवायु परिवर्तनले मानिसको जीवनलाई बढ्दो जोखिममा पारिरहेको अवस्थामा नेपालमा देखा परिरहेका संकटहरू पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले आइएएएस नेपाल तथा तरहरा जेसीजको सहकार्यमा सम्मेलन आयोजित गरिएको हो। देशभरका कृषि, वातावरण, अनुसन्धान तथा नीति–निर्माण क्षेत्रमा संलग्न ५० भन्दा बढी युवाहरू सहभागी बनेका छन्।
सम्मेलनको उद्घाटन जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले गर्दै जलवायु परिवर्तनको प्रतिकूल असरबाट नेपाललाई जोगाउन अब तुरुन्तै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। सहभागीहरूबीच प्यानल छलफल र समूहगत संवादमार्फत जलवायु संकटका कारण, चुनौती तथा व्यावहारिक समाधानबारे साझा निचोड निकालिने बताइएको छ।
उद्घाटनका अवसरमा इटहरी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई जलवायु परिवर्तनका असरबारे सचेतना कार्यक्रम पनि प्रदान गरिएको थियो। कोशी प्रदेशमा पहिलोपटक आयोजना गरिएको यो राष्ट्रिय सम्मेलन आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय समिति जीपीसीएआरले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्।








