नेपाली कांग्रेसभित्र आपसमा मनमुटाव गराएर फागुनको निर्वाचनमा जनतामाझ कसरी अनुहार देखाउने ?

Author ImageEcoEcoPolitics५ दिन अगाडि
Image of नेपाली कांग्रेसभित्र आपसमा मनमुटाव गराएर फागुनको निर्वाचनमा जनतामाझ कसरी अनुहार देखाउने ?

नेपाली कांग्रेसका नेता डा. अबुल हुसेन अन्सारीको कार्यवाहक सभापति समक्ष हार्दिक नेपाली कांग्रेसभित्र आपसमा मनमुटाव गराएर फागुनको निर्वाचनमा जनतामाझ कसरी अनुहार देखाउने ?

काठमाडाैं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीले कार्यवाहक सभापति समक्ष औपचारिक अपिल गर्दै पार्टी अहिले मुलुकसँगै गम्भीर मोडमा पुगेको स्थिति प्रस्ट पार्नु भएको छ।

 

उहाँले बुझाएको अपिलपत्रमा भन्नु भएको छ—

*“आदरणीय कार्यवाहक सभापतीज्यू,

नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा, ललितपुर

 

विषय : हार्दिक अपिल सम्बन्धमा ।

नेपाल अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रि रहेको छ । जेनजी आन्दोलनपछि मुलुक राजनीतिक संक्रमणकालमा छ । जेनजी आन्दोलनका बाछिटाले मुलुकलाई आक्रान्त तुल्याउँदा त्यसबाट कांग्रेस पनि नराम्रोसँग प्रभावित भएको छ । हाम्रा पार्टी सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवामाथि सांघातिक आक्रमण भयो । यस्तो अवस्थामा नेपालको सबैभन्दा पूरानो र जिम्मेवार लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस गम्भीर हुनुपर्ने हो । मुलुकमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जनतामा आसाको सञ्चार गराउन अग्रसर हुनुपर्ने हो । जनताले पनि नेपाली कांग्रेसबाट अभिभावकीय भूमिका खोजिरहनु भएको छ । तर, त्यसबाट च्यूत भइरहेको तितो एथार्थलाई म स्वीकार्न हिचकिचाउँदैन ।

 

पार्टी मुख्यालयमा एक महिनादेखि केन्द्रीय समिति बैठक जारी छ । तर, कुनै निर्णय गर्न सकिरहेको छैन । यसले कांग्रेसलाई ईतिहासमै सबैभन्दा कमजोर बनाउन उद्दत भइरहेको महसुस हामी जस्ता इमान्दार नेता कार्यकर्ताहरूले गरिरहेका छौं । पार्टी सभापतीले तपाईंलाई कार्यवाहक दिएको एक महिना भइसक्दा केन्द्रीय समिति अनुत्तरित हुनु गम्भीर विषय भएको हाम्रो बुझाइ छ ।

हामी फागुन २१ का लागि तए भएको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुन सकिकेका छैनौं । देशको समस्यामा चिन्तित हुन सकेका छैनौं । केवल पार्टीको १५औं महाधिवेशन विषयलाई गिजोलिरहेका छौं । त्यसको मतियारका रुपमा महामन्त्रीद्वयले भूमिका खेलिरहनु भएको छ । उहाँहरूबाट पार्टी र देशले यस्तो भूमिकाको अपेक्षा गरेको थिएन । विशेष अधिवेशनको नाममा भाइभाइबीच मनमुटाव गराएर २१ फागुनको निर्वाचनमा उहाँहरूले जनतामाझ कसरी अनुहार देखाउनु हुने हो ?

यो एउटा अहम प्रश्न बनेर पदाधिकारीसामू तेर्सिएको छ । यसले आज एकले अर्कोको अस्तित्व स्विकार्न नसक्ने अवस्थाको निर्माण भइरहेकाे छ ।म आग्रह गर्न चाहन्छु, तपाईंहरू अब पार्टीलाई विवादित नबनाइदिनुहोस् । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन तालिका सार्वजनिक गरिसकेको अवस्थामा अब पार्टीको नियमित र विशेष अधिवेशन चुनावभन्दा अगाडि हुन सक्दैन ।

यो विषयमा गम्भीर बन्न म यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । जारी केन्द्रीय समिति बैठकबाट जनताले कांग्रेसको आधिकारिक धारणा र नवीन भूमिका खोजिरहेकाले त्यसमा गम्भीर हुन मेरो विनम्र अपिल छ ।

यस्तो अवस्थमा एक दिन पनि बैठक पर नधकेलेर पार्टीको गतिशिलतालाई जिवन्तता दिनुहुन मेरो हार्दिक आग्रह छ । पार्टीका सबै भ्रातृ र सुवेच्छुक संस्थालाई पनि तत्काल २१ फागुनको निर्वाचनमा केन्द्रित गराउन अब पार्टीले अविलम्ब गर्नु हुँदैन । अझैँ पार्टी लेकिन, किन्तु, परन्तु मा अड्कियो भने ठूलो दीर्घकालीन असर खेप्न बाध्य हुनेछ ।

पार्टी हाम्रो मात्र पेवा झैँ गर्ने अधिकार र छुट कसैलाई छैन । यो सम्पूर्ण जनताको साझा लोकतान्त्रिक चौतारी हो । पार्टीको प्राण पनि लोकतन्त्र नै हो ।पार्टीभित्र कसैले आफूलाई हावी पार्दै लोकतन्त्रको मर्म पार्ने काम गर्नु उचित होइन ।

पार्टी सभापति शेरबहादुर देउवा उपचार गरेर सिंगापुरबाट स्वदेश फर्किसक्नु भएको छ । उहाँले महाधिवेशनका विषयमा पार्टीमा उत्पन्न विवादको हल खोजिरहनु भएको छ । त्यसैले पार्टीलाई एक ढिक्का बनाएर चुनाव केन्द्रित गराउन मेरो आग्रह छ ।

 

जय नेपाल

डा. अबुल हुसेन अन्सारी

महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस

पूर्व केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ”**

यसै मार्फत डा. अन्सारीले पार्टी एकता, नेतृत्वको जिम्मेवारी र आसन्न निर्वाचनमा कांग्रेसलाई तत्पर तथा एकमुख बनाउन सबै पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराएका छन्।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com