बागमती करिडोरको फोहोर तथा सडक समस्या समाधानमा तत्कालीन सुधार हुने : मन्त्री घिसिङ
EcoEcoPolitics१ हप्ता अगाडि
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोरको फोहोरमैला व्यवस्थापन तथा सडक मर्मतसम्भारको स्थलगत निरीक्षण गरेका छन्।
गुह्येश्वरीदेखि सुन्दरीजल क्षेत्रसम्मको दौडानमा मन्त्री घिसिङसँग शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका अधिकारीहरू सहभागी थिए।दौडानका क्रममा टोलीले नदी किनारका फोहोर व्यवस्थापन, ढल निकास, सडक विस्तार तथा स्तरोन्नति सम्बन्धी अवरोधबारे प्रत्यक्ष जानकारी लिएको थियो।
मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने प्रतिवद्धता व्यक्त गरे।
उनका अनुसार काठमाडौं उपत्यकाका नदी सफा भएमात्र शहर व्यवस्थित र स्वच्छ बन्ने भएकाले अल्पकालीन तथा दीर्घकालीन ढल व्यवस्थापन योजनाअनुसार काम भइरहेको छ। प्रशोधन केन्द्रहरू पनि चरणबद्ध रूपमा विस्तार भइरहेको जानकारी उनले दिए।
घिसिङले सडक विभाग, उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिबीच देखिएको समन्वय समस्यालाई छिटो समाधान गर्ने प्रतिबद्धता दोहोर्याए।
सडक मर्मत तथा कालोपत्रे कार्यलाई उच्च प्राथमिकता दिइएको उनले बताए।
“स्थानीय तहसँग समन्वयमा काम भइरहेकाले छाडिएका बेवारिसे गाडी हटाउन आवश्यक उपकरण उपलब्ध गराइन्छ, ती गाडीहरू तत्काल हटाइदिनु हुनेछ,” मन्त्री घिसिङले निर्देशन दिए।
सरकारले बागमती करिडोरलाई सफा, व्यवस्थित र टिकाउ संरचनासहितको मोडल मार्गका रूपमा विकसित गर्ने लक्ष्य लिएको बताइएको छ।








