ओलीको आरोप: ‘जेनजी आन्दोलनका नाममा देशलाई अस्थिर बनाउने प्रयास हुँदैछ’

Author ImageEcoEcoPolitics१ हप्ता अगाडि
Image of ओलीको आरोप: ‘जेनजी आन्दोलनका नाममा देशलाई अस्थिर बनाउने प्रयास हुँदैछ’

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले सरकार गठन र प्रतिनिधिसभा विघटनको षड्यन्त्र भइरहेको दाबी गरे।

 

‘देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएका छन्,’ उनले भने, ‘यो राष्ट्रका लागि अनिष्ठ परिस्थिति हो, यसलाई लामो समय जान दिनु हुँदैन।’

 

ओलीले हाल विभिन्न आपराधिक तत्त्वका कारण जनता आतङ्कित भएको भन्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मेवारी युवाको काँधमा आएको बताए।

 

उनका अनुसार, जेनजी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि कारबाही नगरिएको छ। ‘प्रहरीले प्रमाणसहित पक्राउ गरेको अपराधीलाई पनि सरकारले छाड्ने आदेश दिएको छ,’ उनले भने।

 

एमाले तोडफोड र आगो लगाउने पार्टी नभएको बताउँदै ओलीले भने, ‘हामी देशमा शान्ति, संविधान र लोकतन्त्रका लागि सडकमा निस्कने हौं।’

 

उनले शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै भने, ‘संविधानले दिएको अधिकार सिडिओको आदेशले काट्न सक्दैन।’

 

ओलीले एमाले अबका आन्दोलनका लागि प्रशासनसँग कुनै अनुमति नलिने स्पष्ट पारे र लोकतन्त्र पुनर्स्थापना गर्न सडकमा उत्रिने प्रतिबद्धता व्यक्त गरे।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com